गार्डेन राई
सोलुखुम्बु, चैत ८ गते । राष्ट्रपति रामचन्द्र पौडेल सोलुखुम्बु आउनुहुने भएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उदघाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल चैत ११ गते सोलुखुम्बु आउन लाग्नुभएको हो ।
राष्ट्रपति पौडेलले भवन उदघाटनका साथै सम्बोधन गर्ने कार्यक्रम तय भएको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०–८१ को वैशाखमा सम्झौता गरी जेठ १६ बाट सुरु गरेको भवनको निर्माण कम्पनी आरोन ओमबालाजी इआर रामेछापले २०८१ माघमा सम्पन्न गरी गाउँपालिकालाई चाबी हस्तान्तरण गरेको थियो ।
नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत बजेटको लागत साझेदारीमा भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो ।
पार्किङसहितको साढे तीन तले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिएको र अब प्रशासनिक सेवा प्रवाहमा सहजता हुने गाउँपालिका उपाध्यक्ष बिना राईले बताउनुभयो ।