काठमाडौँ, चैत ८ गते । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना (एसटिपी)’ कार्यक्रम सुरु गर्ने भएका छन् । आज यहाँ बोर्डमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी र युएनडिपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र युएनडिपीको एसिया र प्यासिफिक क्षेत्रीय निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा बोर्डका सिइओ जोशी र युएनडिपी नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले सम्झौतापत्र आदानप्रदान गर्नुभयो ।
स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यसहित पर्यटन सेवासुविधा सुधार, सीपमूलक तालिम र पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्न अघि बढाइएको परियोजना सफल बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्रालयका सचिव सिंहले बताउनुभयो । कूल लागत ५ मिलियन (५० लाख) अमेरिकी डलर रहेको यो परियोजनामा बोर्ड र युएनडिपीले समान एक दशमलव पाँच मिलियन अमेरिकी डलर योगदान गर्नेछन् भने थप दुई मिलियन अमेरिकी डलर संयुक्तरूपमा परिचालन गरिनेछ ।
परियोजनाले तीन वर्षको अवधिमा (२०२५-२०२८) दुई हजार ५०० दिगो रोजगारी सिर्जना र पाँच हजार जनालाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । प्रमुख पर्यटकीयस्थलमा साना पर्यटन पूर्वाधार तथा पदमार्गहरूको निर्माण र सुधारका साथै नेपालको पर्यटन डिजिटलाइजेशनलाई प्रवद्र्धन गरी सेवा प्रभावकारिता र पहुँच वृद्धि गर्ने परियोजनाको लक्ष्य रहेको छ ।
कार्यक्रममा बोर्डका सिइओ जोशीले युएनडिपीको साझेदारीप्रति धन्यवाद व्यक्त गर्दै भन्नुभयो, “यस परियोजनाले नेपालमा पर्यटन अनुभव मात्र होइन, स्थानीय समुदायलाई रोजगार र उद्यमशीलताका अवसरहरू प्रदान गर्दै नेपाललाई एक सशक्त र विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्नेछ ।” यसैगरी, युएनडिपी-नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले नेपालको पर्यटन क्षेत्रको रूपान्तरणमा युएनडिपीले जोडिन पाउँदा गर्व महसुस गरेको भन्दै यो परियोजना स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी नेपालको आर्थिक सम्भावना वृद्धि गर्न र दिगो पर्यटनलाई प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
परियोजनाले नेपालको १६औँ योजना, दिगो विकास लक्ष्य र नेपाल पर्यटन दशक (२०२३-२०३२) ले परिकल्पना गरेका प्राथमिकताअनुसार सन् २०३२ सम्ममा वार्षिक पर्यटक आगमन ३५ लाख पुर्याउन र नेपाललाई विश्वभरका यात्रुहरूका लागि अझ आकर्षक र दिगो गन्तव्य बनाउन बल पुर्याउने बोर्डले जनाएको छ ।
पर्यटन बोर्ड र युएनडिपीले यसअघि संयुक्तरूपमा सञ्चालन गरेको ‘दिगो पर्यटनमार्फत जीविकोपार्जन पुनरुत्थान परियोजना (एसटिएलआरपी)’ ले कोभिड-१९ महामारीपश्चात् प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न भूमिका खेलेको थियो । सो परियोजनाले सगरमाथा र अन्नपूर्ण क्षेत्रमा साना पर्यटन पूर्वाधार निर्माण र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्दै एक हजार छ सय जनालाई रोजगार सिर्जना गरेको थियो ।
नयाँ परियोजना एसटिपीले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदामा लगानी, पूर्वाधार विकास, कार्यबलको क्षमता अभिवृद्धि र डिजिटल नवप्रवर्तनमार्फत पर्यटक वृद्धि गर्दै नेपालमा रहने अवधि बढाउने र खर्चमा वृद्धि गराउने लक्ष्य लिएको छ । रासस