अमरराज नहर्की
तनहुँ, चैत ८ गते । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’ अन्तर्गत दुलेगौँडा–हर्कपुर मोटरमार्गको स्तरोन्नतीको कामले तीब्रता पाएको छ । शुक्लागण्डकी नगरपालिकाले निर्माणको काम चाँडै सम्पन्न गर्न दबाब दिएपछि अलपत्र पारेर छाडेको निर्माण कम्पनी हाल काममा फर्किएर तदारुकतासाथ काममा फर्किएको छ ।
शङ्करमाली जेभिका प्रतिनिधि श्याम लामा अहिले मोटरमार्ग निर्माणमा आफै खटिएर स्तरोन्नतिको काम गर्न थालेको शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो ।
शुक्लागण्डकी नगरपालिका –३ को बन्केवाको बगैचासम्मको १० किलोमिटर मोटरमार्ग कालोपत्रे गर्ने बनाउनेगरी काम भइरहेको नगरपालिकाले जनाएको छ । गौरवको आयोजना समयमा नै पूरा गर्न पटक–पटक दबाव दिएपछि हाल कामले गति पाएको नगर प्रमुख पण्डितले जानकारी दिनुभयो ।
विसं २०५२ मा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर सडक १० दशमलव १८ किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भइ २०७६ साल मङ्सिर २४ गते शिलान्यास गरिएको थियो ।
विसं २०७८ माघ १० गतेभित्र सम्पन्न हुनुपर्ने सडकमा पटक–पटक म्याद थप गरिएको छ । आगामी असारसम्म म्याद रहेको उक्त खण्डको प्रगति हालसम्म ४१ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । उक्त खण्ड कालोपत्रका लागि एमएस शङ्करमाली निर्माण सेवाले २५ करोड १० लाख ६० हजारमा ठेक्का पाएको थियो ।
शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति सुरू हुँदा स्थानीयवासी खुसी भएका थिए ।
कामको प्रगति हुँदा उपभोत्ता चिन्तित बनेका थिए । निर्माण व्यवसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिक रूपमा नोक्सान परेको बताउँदै आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा १० किमी सडक कालोपत्र हुनेछ । सडकको आठदेखि नौ मिटर चौडाइमा साढे पाँच मिटरको कालोपत्र हुनेछ ।