काठमाडौँ, चैत ८ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कूटनीतिक सम्बन्ध विस्तारका लागि आफ्नो भारत भ्रमण फलदायी भएको बताउनुभएको छ। भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उहाँले सो जानकारी दिनुभएको हो।
उहाँले भन्नुभयो, “यो भ्रमणका क्रममा भारतका विदेशमन्त्री डा. एस जयशंकर र अन्य देशका समकक्षीसँग भेटवार्ता भयो र राइसिना डायलगमा पनि सम्बोधन भयो। त्यसैगरी भारतबाट नेपालले खरिद गर्ने विद्युत पनि निरन्तरताका लागि पहल गरेँ। त्यसैले नेपालको कूटनीतिक सम्बन्ध विस्तारमा यो भ्रमण फलदायी रह्यो।”
उहाँले यस भ्रमणका क्रममा भारतका विदेशमन्त्रीका अतिरिक्त मोल्दोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, जर्जीया, युक्रेन र फिलिपिन्सका परराष्ट्र मन्त्री तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशकसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो।
मन्त्री डा. राणाले भन्नुभयो, “भारतमा रहँदा मैले हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि कूटनीतिक प्रयास गरेँ। यसमा खासगरी नेपाल र भारतवीच रहेको विद्यमान द्विपक्षीय सम्झौता अनुसार नै इन्डियन इनर्जी एक्सचेञ्ज मार्फत नेपालमा आपूर्ति हुने विद्युतको परिमाणमा वृद्धि गर्न अनुरोध गरेकी छु।”
उहाँले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिक्की गिलसँग भएको भेटमा अमेरिकाले नेपाललाई दिँदै आएको आवश्यक सहयोगको निरन्तरता तथा हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाइका लागि सहजीकरण गर्न आग्रह गरेको जानकारी दिनुभयो।
त्यसैगरी युक्रेनी समकक्षीसँगको भेटमा युक्रेनमा युद्धबन्दीको रुपमा रहेका ७ जना नेपालीको रिहाइका लागि आग्रह गरेको जानकारी मन्त्री डा. राणाले दिनुभयो।
पत्रकारका एक प्रश्नमा उहाँले भारत नेपालमा सदैव प्रजातान्त्रिक प्रणालीमा नै विश्वास गर्ने स्पष्ट पार्नुभएको छ।