पर्वत, चैत ८ गते । विहादी गाउँपालिका-२ बर्राचौरमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र बनेको छ । विकट क्षेत्रका नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको अस्पताल निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको हो ।
१५ शय्या क्षमताको अस्पताल १७ महिनामा निर्माण सम्पन्न गर्नेगरी वि.सं.२०७७ मङ्सिरमा भ्याली बाबुरत्न जेभी कम्पनीले जिम्मा लिएको थियो । समयमा काम नगर्दा निर्माण भएका संरचना पनि जीर्ण बन्दै गएका छन् । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखरामार्फत निर्माण हुन लागेको उक्त भवन रु छ करोड लागतमा बन्न लागेको हो ।
साउदी सरकारको पुनर्निर्माणसम्बन्धी साउदी फन्डबाट अस्पताल निर्माण थालिएको थियो । अस्पताल सम्पन्न भएर सञ्चालनमा आइसक्ने बेला भइसक्दा पनि निर्माण व्यवसायीको लापरबाही र स्थानीय सरकारले दबाब नदिँदा एक तला ढलान गरेर अलपत्र अवस्थामा छाडिएको विहादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद भुसालले बताउनुभयो ।
ठेकेदारको लापरबाहीका कारण पाँच वर्षभन्दा बढी भइसक्दा पनि भवन सम्पन्न हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । ठेकेदारले अस्पताल निर्माण सम्झौताअनुसार समयमा सम्पन्न नगरी पटकपटक म्याद थप गर्दै आएको स्थानीय बताउँछन् । काम सम्पन्न गर्ने भन्दै ठेकेदार कम्पनीले अहिलेसम्म तीनपटक निर्माण सम्झौताको म्याद थप गरिसकेको छ ।
अस्पतालका लागि स्थानीय डोलेन्द्र गिरी, राम गिरी, कृष्ण गिरी, भूपेन्द्र पौडेल, भूमिश्वर पौडेल, अर्जुन भट्टराईलगायतले निःशुल्क जग्गा उपलब्ध गराएपछि निर्माण प्रक्रिया सुरु भएको थियो । योसँगै स्थानीयले समयमा सर्वसुलभ स्वास्थ्य सेवा पाउन् भनेर उर्वरायुक्त जमिन दान गरेका जग्गादाता निराश बनेका छन् । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराका इन्जिनियर सुवास बरालले ठेकेदार कम्पनीले नियमानुसार पाउनुपर्ने रकम लिइरहेको बताउनुभयो ।
ठेकदारले ल्याएको बिलबापत रकम लिएको बताउँदै अहिलेसम्म एक करोड ६५ लाख भुक्तानी लिइसकेको उहाँले जानकारी दिनुभयो । करिब १२ हजार वर्गफिटमा बन्ने भवनमध्ये एउटा ब्लकको केही वर्षपहिले ढलान भए पनि ‘बी ब्लक’को ढलान हुन बाँकी रहेको उहाँले बताउनुभयो । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार भ्याली बाबुरत्न जेभी कम्पनीले स्याङ्जा आरुचौरमा आयुर्वेदिक अस्पताल र सेतीदोभानमा प्राथमिक अस्पतालको भवन निर्माणको सम्झौता गरी करिब १९ करोड बराबर निर्माण सम्झौता गरेको थियो । निर्माण जिम्मा लिए पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको भवन अलपत्र पारेको भन्दै स्थानीय निराश बनेका छन् ।
विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले गौरवको योजनाका रूपमा रहेको उक्त भवन अलपत्र परेकोबारे सङ्घीय स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेशमा जानकारी गराइएको बताउनुभयो । निर्माण अलपत्र पार्ने ठेकेदारसँग सम्झौता रद्द गरेर अर्कोलाई दिन पहल गरिएको उहाँको भनाइ छ । समयमा अस्पताल नबन्दा विहादीका छ, पैँयू गाउँपालिकाका सातवटा वडाका साथै छिमेकी जिल्ला बागलुङ र गुल्मीका नागरिकहरू सामान्य उपचारका लागि पाल्पा, बुटबलका अस्पतालमा जान बाध्य भएका छन् । रासस