• ३ साउन २०८१, बिहिबार

दलितका मुद्दालाई सञ्चार माध्यमले पर्याप्त स्थान दिनुपर्छः अध्यक्ष बस्नेत

blog

काठमाडौं, जेठ १९ गते। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दलित समुदायका मुद्दालाई सञ्चार माध्यमले पर्याप्त स्थान दिनुपर्ने बताउनुभएको छ। प्रेस काउन्सिल नेपाल र क्रियाशील दलित पत्रकार सङ्घको संयुक्त आयोजनामा काउन्सिल सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले दलित समुदायका एजेण्डा घटना घटेपछि मात्र उठाउनेभन्दा खोजेर सञ्चार माध्यमले स्थान दिनुपर्नेमा जोड दिनुभएको हो। 

उहाँले दलित समुदायका मुद्दा साझा मुद्दा भएको भन्दै यसमा प्रेस काउन्सिलले समुदाय र सञ्चार माध्यमलाई सचेत गराउँदै अगाडि बढ्ने बताउनुभयो। कार्यक्रममा सङ्घको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै अधिकारकर्मी सुशील विकले दलित समुदायका मुद्दा दलित पत्रकारबाहेक अन्यले प्राथमिकताका साथ स्थान दिएको नपाइएको बताउनुभयो। 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले समस्याको पहिचान गरी सञ्चार माध्यम र पत्रकार दलित समुदायको उत्थानका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो। दलितकै सन्दर्भमा समाचारमा विषयवस्तु कसरी प्रवर्द्धन गर्ने भन्ने विषयमा महासङ्घले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।

न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले दलित समुदायका मुद्दालाई सञ्चार माध्यमले निरन्तर स्थान दिनुपर्ने भन्दै पत्रकारको न्युनतम पारिश्रमिकका विषयमा समिति गम्भीर रहेको बताउनुभयो।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले समाचारकक्ष र प्रकाशित समाचार सामग्रीलाई दलितमैत्री बनाउन र समावेशीकरणका मुद्दालाई सञ्चार माध्यमले महत्व दिए/नदिएको विषयमा अनुगमन कार्यलाई प्रभावकारी बनाउने जानकारी दिनुभयो।