• ३ साउन २०८१, बिहिबार

असिना पानीले सल्यानको कपुरकोटमा दुई करोड बराबरको क्षति

blog

सल्यान जिल्लाको कपुरकोट गाउँपालिका असिना पानीले सुन्तला, बेमौसमी तरकारी र नर्सरी ब्याड नस्ट गरेको छ । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, जेठ १९ गते । सल्यानको कपुरकोटमा परेको असिना पानीले दुई करोड रुपियाँ बराबरको तरकारी तथा फलफूलमा क्षति पुर्‍याएको छ । 

 बाक्लो असिना पानीका कारण सुन्तला, बेमौसमी तरकारी र नर्सरी ब्याड नष्ट भएको हो । असिना पानीका कारण एक करोड ९२ लाख ६० हजार १८० रुपियाँ बराबरको क्षति भएको कपुरकोट गाउँपालिका कृषि शाखाले जनाएको छ । गत बिहीबार परेको असिना पानीको क्षतिको विवरण एक सातापछि सार्वजनिक गरिएको हो । 

कृषि शाखा प्रमुख टिका कुमारी राईले असिना पानीले १९ किसानले राखेको नर्सरी ब्याडमा एक लाख ३२ हजार ५०० रुपियाँ, तरकारी खेती गरेका ९५ किसानको ९८ लाख ४० हजार ४३० रुपियाँ र ६५ किसानको सुन्तलामा ९२ लाख ८७ हजार २५० रुपियाँ बराबरको क्षति भएको बताउनुभयो । उहाँका अनुसार असिना पानीले विशेष गरी वडा नं. ४ को रावत टोल, गाडा पानी, चिन्नेखोलामा क्षति गरेको छ ।

असिना पानीबाट भएको क्षतिको वडाबाट मुचुल्का उठाउने काम भइरहेकाले क्षतिको विवरण बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत ओलीले बताउनुभयो । उहाँका अनुसार,  किसानहरूले निवेदन दिइरहनु भएको छ । क्षतिको विवरण उत्पादनको हिसाबले आकलन गरिएको छ ।

कपुृरकोट क्षेत्र मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि प्रख्यात रहेको छ । आम्दानीको मुख्य स्रोत तरकारी तथा फलफूललाई बनाउँदै गएका कपुरकोटबासी यस पटक भने असिना पानीले क्षति पु¥याए पछि चिन्तित बनेका छन् । कृषक मित्र कठायतले  गाउँमा कृषकले लगाएको सुन्तला, बेमौसमी तरकारी र नर्सरी ब्याड नष्ट हँुदा उत्पादन घट्नुका साथै आम्दानी कम हुदा दैनिक घर खर्च चलाउन समस्या हुने वताउनुभयो ।