• ७ चैत २०८१, बिहिबार

दक्षिण एसियाली किसान सम्मेलन बिहीबारदेखि काठमाडौं हुने

blog

अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालको अध्यक्षतामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख डा. भेषराज अधिकारी दक्षिण एसियाली किसान सम्मेलनका बारेमा जानकारी दिनुहुँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत ६ गते । दक्षिण एसियाली किसान सम्मेलन विहीबारदेखि काठमाडौंमा हुने भएको छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पाँचौं दक्षिण एशियाली किसान सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्गठन अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले  दक्षिण एशियाली किसान सङ्गठन यस क्षेत्रका किसानहरुको एक महत्वपूर्ण मञ्च भएको बताउनु भयो । 

सम्मेलनमा संकल्पको रूपमा ‘खाद्य सम्प्रभूताको प्राप्ति, जलवायु न्याय र किसान अधिकारको सुनिश्चितता’ निर्धारण गरिएको छ । सम्मेलनमा दक्षिण एसियाका किसान संगठनका एकसय पचास बढी किसान नेता, अभियन्ता र अधिकारकर्मीको सहभागिता रहनेछ ।

 पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख डा. भेषराज अधिकारीले भन्नुभयो, ‘‘ यस संगठनको उद्देश्य, नीति र रणनीतिलाई अद्यावधिक गरेर किसान आन्दोलनलाई थप नयाँ उचाइमा पुऱ्याउन हामीले यस सम्मेलनको आयोजना गरेका छौं । सम्मेलनको सन्दर्भमा संकल्पको रूपमा ‘खाद्य सम्प्रभुताको प्राप्ति, जलवायु न्याय र किसान अधिकारको सुनिश्चितता’ निर्धारण गरेका छौं । सम्मेलनमा दक्षिण एशियाका किसान संगठनका एकसय पचास बढी किसान नेता, अभियन्ता र अधिकारकर्मीको सहभागिता रहने छ ।’’

 उहाँले सम्मेलनमा दक्षिण एसिया क्षेत्रमा रहेका किसानहरुले भोगिरहेका समस्या र ती समस्या समाधानका विषयमा बृहत छलफल गरिने बताउनुभयो ।

सम्मेलनमा भारतका विभिन्न ठूला पार्टी निकट चार किसान संगठन, बंगलादेशबाट चार वामपन्थी पार्टी निकट किसान संगठन, श्रीलंकाबाट १, पाकिस्तानबाट १ र नेपालका २ किसान संगठनका प्रतिनिधिहरुको सहभागिता रहने छ 

सन् १९९४ मा स्थापना भएको यस संगठनले किसानका हक, हित तथा अधिकार, खाद्य सम्प्रभूता, प्रगतिशील भूमि सुधार एवम् जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको नकारात्मक असरका बारेमा आवाज बुलन्द गर्दै आएको छ।

 प्रचार विभाग प्रमुख डा. अधिकारीले भन्नुभयो, ‘‘बहुर्राष्ट्रिय निगमहरूले बीउबिजन, कृषि उपकरण, रासायनिक मल, बालीमा प्रयोग हुने विषादी उत्पादनमा नियन्त्रण कायम गरी महँगो मूल्य तिर्न किसानलाई बाध्य पारिरहेका छन् । दैनिक उपभोग्य सामग्रीमा हुने मूल्य वृद्धि, महँगो तथा गुणस्तरहीन शिक्षा, कमजोर सार्वजनिक स्वास्थ्य प्रणाली, आन्तरिक बसाई सराई, बेरोजगारी र भोकमरीले किसान एवं श्रमिक, तिनका परिवार र बालबालिकाहरू प्रताडित बनेका छन् ।’’ 

दुई दिनसम्म चल्ने सम्मेलनले काठमाडौं घोषणा पत्र सार्वजनिक गर्ने र त्यसलाई सम्बन्धित देशका संगठनहरुले कार्यान्वयन गर्ने जानकारी पनि आयोजकले दिएका छन् ।