• ६ चैत २०८१, बुधबार

ट्रयाक खुलेको साढे दुई दशकपछि सडक स्तरोन्नति

blog

लामो समयपछि सडकको स्तरोन्नति गरिदै । तस्बिरः नवराज नेपाली

नवराज नेपाली

गलकोट (बागलुङ), चैत ६ गते । बागलुङ बजारसँग जोडिएको मुलपानी–दानबिसौना सडक स्तरोन्नति गर्न थालिएको दुई दशक भएपछि सडकको सतरोन्नति सुरु गरिएको छ । 

बागलुङ नगरपालिका –७ कालिमाटीस्थित उक्त सडक गत असार १ गतदेखि स्तरोन्नति गर्न थालिएको हो । अहिले सडक फराकिलो बनाउने र नाली निर्माण गर्ने काम भइरहेको छ । 

वि.सं. २०५६ सालमा ग्रामीण क्षेत्रलाई बागलुङ बजारसँग जोड्न निर्माण गरिएको उक्त सडक विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति गरी कालोपत्र गर्न थालिएको हो । ट्रायक खुलेको साढे दुई दशकसम्म सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले स्थानीय आजित बन्दै आएका थिए । अहिले धमाधम काम भएपछि गाउँमा खुसी छाएको छ ।

अहिले मुलपानीदेखि दान बिसौनासम्मको आठ किलोमिटर ६०० मिटर सडक स्तरोन्नति गर्न सुरु गरेको बागलुङ नगरपालिका –६ का अध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभयो । यो सडक निर्माण भएपछि स्तरोन्नतिका लागि धेरै प्रयास गरे पनि सफल हुन नसकेको उहाँको बुझाइ छ । 

“बागलुङ बजारनजिक भए पनि अप्ठ्यारो सडकका कारण बजार आउजाउ गर्न र सामान ढुवानीमा निकै समस्या भएको थियो, घरअगाडि गाडी गुड्दा धुलो र हिलोले यहाँका जनता हैरान भइसकेका थिए” अध्यक्ष गैरेले भन्नुभयो, “अहिले निर्माण कम्पनीले काम थालेपछि धेरैमा सडक पक्की बन्ने आशा पलाएको छ, सडक कालोपत्र भयो भने गाउँ धुलोमुक्त हुनेछ ।”

अध्यक्ष गैरेकाअनुसार ३४ करोड लागतमा उक्त सडक कालोपत्र हुन थालेको हो । वि.सं. २०८२ असार मसान्तसम्म काम सक्नेगरी आषिश–फेवा जेभीले कालोपत्रको जिम्मा लिएको गैरेले जानकारी दिनुभयो । अहिले काम धमाधम गरिरहेको हुँदा सम्झौता अवधिभित्र काम सकिने सम्भावना रहेको अध्यक्ष गैरेको भनाइ छ । 

स्थानीय कृष्ण शर्माले सडक कालोपत्र नहुँदा सामान ढुवानी र यात्रा गर्दा महङ्गो भाडा तिर्नु परेको बताउनुभयो । कालिमाटी, मुलपानी लगायतका गाउँमा धेरै किसानले व्यावसायिक तरकारी खेती र कुखुरा पालन गर्दैआएको भन्दै सडक कालोपत्र भए बजारीकरणमा सहज हुने उहाँको भनाइ छ ।