काठमाडौँ, चैत ६ गते । नेपालका युवा बुद्धिचाल खेलाडी पुरुषोत्तम सिलवाल फिडे क्यान्डिडेट मास्टर (सीएम) हुनुभएको छ ।
श्रीलङ्कामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल पुरुषोत्तमलाई फिडे क्यान्डिडेट मास्टर उपाधि प्रदान गरिएको हो ।
प्रतियोगितामा भाग लिन आफ्नै खर्चमा श्रीलङ्का जानुभएका १७ वर्षीय पुरुषोत्तमले उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धामार्फत ४.५ अङ्क जोड्दै उक्त उपाधि पाउनुभएको हो ।
विश्व चेस फेडेरेसन (फिडे) र एसियन चेस फेडेरेसन (एसीएफ) को तत्वावधान तथा श्रीलङ्का चेस फेडेरेशनको आयोजनामा सम्पन्न एसियन जोनल ३.२ चेस प्रतियोगितामा नेपालबाट एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीले पनि भाग लिनुभएको थियो । दुवै खेलाडीले मध्यमस्तरको खेल प्रदर्शन गर्नुभयो ।
प्रतियोगितामा आयोजक श्रीलङ्कासहित नेपाल, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । बङ्गलादेशका २४३१ रेटेड अन्तर्राष्ट्रिय मास्टर (आईएम) मनुन रेजा निरले सात अङ्क जोड्दै उपाधि जित्नुयो ।
महिलातर्फ बङ्गलादेशकै २०९७ रेटेड अहमद वादिफा सात अङ्क जोड्दै च्याम्पियन बन्नुभयो । वादिफाले आईएम टाइटल पनि पाउनुभयो । पुरुषतर्फ विजेताले १५ सय र महिला विजेताले एक हजार अमेरिकी डलर पुरस्कार पाउनुभयो ।