प्रदिप पन्त
बागलुङ, चैत्र ६ गते। स्ववियु निर्वाचन भएका बागलुङका चार क्याम्पसमा विभिन्न चार विद्यार्थी संगठनले विजयी भएका छन्।
बागलुङ सदरमुकाममा रहेको पुरानो धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी आश्मिन शेख, गलकोट बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रभात साहनी, सर्वोदय क्याम्पस बरेङको स्ववियु सभापतिमा छैठौँका मोहराज पौडेल र शान्तिदीप बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका विपना परियार निर्वाचित हुनुभएको छ।
धवलागिरि बहुमुखी क्याम्पसमा शेख अखिल संयुक्त प्यानलबाट र नेपाल विद्यार्थी संघको तर्फबाट सृष्टि आचार्यबिच, गलकोट बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीबाट साहनी र नेविसंघ, अनेरास्ववियु र अखिल छैठौंको संयुक्त प्यानलबाट रेनुका परियारबिच चुनावी प्रतिस्पर्धा भएको थियो। सर्वोदय क्याम्पस बरेङमा छैठौँका पौडेल र शान्तिदीप बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका परियार सर्वसम्मत निर्वाचित हुनुभएको छ।
धवलागिरि बहुमुखी क्याम्पसले पहिलो पटक महिला स्ववियु सभापति पाएको छ। त्यस्तै बिस वर्षदेखि नेविसंघले स्ववियुको नेतृत्व गर्दै आएको धवलागिरि क्याम्पसमा यस पटक भने अरेरास्ववियुले नेतृत्व हात पारेको छ।