ज्ञानु पंगेनी
मध्यविन्दु, चैत ६ गते । नवलपरासी पूर्व (नवलपुरको) हुप्सेकोट गाउँपालिकामा रहेका वनहरूमा किर्नाले सताउँदा काम गर्न असहज भएको स्थानीयको गुनासो छ ।
विगत केही वर्षयता वनहरूमा किर्नाले निकै सताउन थालेको स्थानीयको गुनासो छ । वनमा बाख्रा चराउँदै गर्नुभएकी हुप्सेकोट –३ निवासी फूलकुमारी कुमालले विगत तीन वर्षयता वनमा किर्ना निकै बढेको गुनासो गर्नुभयो ।
‘हामी खेती किसानी गर्ने मान्छे वन जङ्गल नगई हुँदैन, जङ्गल जाँदा पुरै शरीरभरी, छपक्कै किर्ना टाँसिन्छ, घाउ बनाइदिन्छ’ फूलकुमारीले भन्नुभयो । उहाँले घाँस दाउराका लागि आफ्नो पायक पर्ने विराट सामुदायिक वनमा जाने गर्नुहुन्छ । वनको छेउमा घर भएकाले बाख्रा चराउन पनि वनमा लानेगरेको सुनाउने उहाँले बस्ती नजिकको सिसौघारी, झाडीमा किर्नाले सताउने गरेको गुनासो गर्नुभयो ।
उहाँजस्तै अर्का स्थानीय गेमिसरा ठाडा पनि जङ्गल जाने भनेपछि किर्ना सम्झेर डराउनुपर्ने अवस्था आएको बताउनुहुन्छ । ‘हाम्रो गोठभरी गाई बाख्रा छन् । वनबाट घाँस नल्याई सुख छैन । वनमा गएपछि शरीरभरी किर्ना टाँसिन्छ, किर्नाले खुन चुसेपछि निकै दुख्ने चिलाउने, घाउ हुने हुन्छ, एकदमै समस्या छ, हामीलाई’ ठाडाले भन्नुभयो ।
हुप्सेकोटको विराट सामुदायिक वन, मयुर पोखरी सामुदायिक वन, त्रिकोट सामुदायिक वन, सत्यवती सामुदायिक वनलगायतका वनमा किर्नाले निकै सताउने गरेको उपभोक्ताको गुनासो छ ।
विराट सामुदायिक वनका सचिव ईश्वरी रेग्मीकाअनुसार केही वर्ष पहिले वनमा किर्ना निकै कम थियो । वनमा घाँस दाउरा गर्न जाँदा वा वन समूहको कुनै काम विशेषले जाँदा मानिसलाई कताकति टाँसिन्थे । तर अहिले किर्ना निकै बढेकाले वनभित्र गएपछि टाँसिहाल्ने गरेको बताउनुहुन्छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरका सचिव सुशील पौडेलले सामुदायिक वनका साधारणसभा तथा विभिन्न कार्यक्रममा पनि किर्नाको प्रकोप भयो भनेर उपभोक्ताबाट गुनासो आउनेगरेको बताउनुभयो । पछिल्लो समय सामुदायिक वनमा बँदेल तथा स्याललगायतका किर्ना बढी लाग्ने वन्यजन्तुको संख्यामा वृद्धि हुँदा किर्ना वृद्धि भएको हुनसक्ने सचिव पौडेलको भनाइ छ ।