माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), चैत ६ गते । पोखराको नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल विजयी भएको छ ।
स्ववियु निर्वाचनमा अध्यक्षका उम्मेदवार प्रतिभा भण्डारीले नेपाल विद्यार्थी संघका अध्यक्षका उम्मेदवार रचना पौडेललाई एकसय ४३ मतले पराजित गर्दै निर्वाचित हुनुभएको हो ।
भण्डारीले २ सय ४५ मत ल्याउँदा रचनाले एकसय २ मत प्राप्त गर्नुभयो । तीनसय ४९ मतदाता रहेकोमा ३ सय ४७ मत खसेको थियो । अध्यक्षमा निर्वाचित भण्डारी बिएस्सी दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । सचिवमा सलिना श्रेष्ठ, कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित हुनुभयो ।
प्रत्यक्षतर्फ सदस्यमा दीपा आचार्य, हिमानी थारु, कोमल रावत क्षेत्री, अजिता घर्ती मगर, सचिना सोमाइ मगर निर्वाचित भएका छन् । समानुपातिकतर्फ अनेरास्ववियुले २ सय ७० मत र नेविसंघले ७५ मत प्राप्त गरेको छ । अनेरास्ववियुबाट समानुपातिकमा १० जना उम्मेदवार छन् । चुनाव जितेपछि क्याम्पसमा अनेरास्ववियुले राति विजय उत्सव मनाएको छ ।
वन क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीको प्यानल विजयी
पोखराको वन क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ । मंगलबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार अध्यक्षमा अनेरास्ववियुका अभिषेक शर्मा निर्वाचित हुनुभयो । शर्माले नेविसंघका उत्तम हुमागाईंलाई ८२ मतले पराजित गर्नुभयो ।
शर्माले २ सय ३० मत पाउँदा हुमागाईंले एकसय ४८ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक डा. रामचन्द्र शर्माले जानकारी दिनुभयो । सचिवमा क्रान्तिकारीका गौरव खड्का २ सय २६ मत ल्याएर निर्वाचित हुनुभयो । सचिवमा नेविसंघका दिपेन्द्रप्रसाद रौनियारले एकसय ४८ मत प्राप्त गर्नुभयो ।
कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा श्रेष्ठले २ सय २४ मत ल्याउँदा नेविसंघकी जानकी गुर्धामीले एकसय ५४ मत पाउनुभयो । सदस्यमा अनेरास्ववियुका सुनिलसिंह भण्डारीले २ सय ४७, सिद्धान्त खनालले २ सय ३२, अखिल (क्रान्तिकारी) की रिया श्रेष्ठले २ सय २५, प्रकट ढुंगाना र भिभोर शाहले समान २ सय ३० मत प्राप्त गर्नुभयो ।
अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्ष र २ जना सदस्य तथा क्रान्तिकारीले सचिव र ३ सदस्य लिने सहमति गरेर प्यानल बनाएको थियो । क्याम्पसमा ४ सय ५० मतदातामा ३ सय ८३ मत खसेको थियो । पोखराको इन्जिनियरिङ क्याम्पसमा मतगणना जारी छ । पृथ्वीनारायण र जनप्रिय क्याम्पसमा चुनाव स्थगित भएको छ । संस्कृत क्याम्पसमा चैत १० गते निर्वाचन हुँदैछ ।