इमान सिं राना
पाल्पा, चैत्र ६ गते । शहीद बहुमुखी क्याम्पस रामपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना स्थगित भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि मतगणना स्थगित गरिएको हो ।
मङ्गलवार शान्त वातावरणमा मतदान प्रक्रिया सकिए सँगै साँझ बाट मत गणना सुरु भएको थियो । मतगणनाको क्रममा विवाद उत्पन्न भई असहज परिस्थिति सृजना भएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत त्रिविक्रम खनालले सूचना मार्फत जानकारी गराउनु भएको छ । सर्वपक्षीय छलफल पश्चात् रोकिएको मतगणना प्रक्रिया पुनः सुरु हुने बताइएको छ । सर्वपक्षीय बैठकका लागि पहल भइरहेको खनालले बताउनुभयो ।
मतगणनाको क्रममा विवाद आएपछि आक्रोशित भिड क्याम्पस परिसरमा प्रवेश गरेको थियो । क्याम्पस परिसर भित्र नाराबाजी, हुल हुज्जत हुन थालेपछि स्थित नियन्त्रणमा प्रहरीले राती १२ बजे हवाई फायर समेत गरेको छ । मतगणना स्थलको सुरक्षा र झडपको स्थिति सृजना हुन नदिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जानकारी दिनुभयो ।
अहिले क्याम्पसमा सुरक्षा व्यवस्था थप कडाइ गरिएको छ । क्याम्पसमा भएको मतदानमा कुल ७१५ मतदाता मध्ये ५७१ मत खसेको थियो । ४७४ मत गणना भइसकेपछि राती १० बजे देखि मतगणना रोकिएको हो ।