घोराही समाचारदाता
घोराही, चैत ६ गते । दाङको घोराही उपमहानगरपालिकामा नगर अस्पताल निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका–४ तल्लोभकारेमा निर्माण हुन थालेको १५ शय्याको नगर अस्पताल डेढ वर्षमा करिब ६० प्रतिशत काम सकिएको हो ।
चालु आर्थिक वर्षभित्र अस्पताल निर्माणको काम सक्ने गरी काम भइरहेको घोराही उपमहानगरपालिकाले जनाएको छ । करिब २५ कोठे भवन दुई वर्षभित्र निर्माण सक्ने गरी २०७७ साल मङ्सिर १३ गते शिलान्यास भएको थियो । सम्झौता मितिमा काम हुन नसकेपछि २०८० मङ्सिर महिनादेखि पेटी ठेकेदारका रूपमा न्यु चाँदनी निर्माण प्रालिले अस्पताल निर्माणको जिम्मा लिएको थियो । पेटी ठेक्काका रूपमा नयाँ निर्माण कम्पनीले अस्पताल निर्माणको जिम्मा लिएपछि कामले गति लिएको घोराही उपमहानगरपालिकाका इन्जिनियर सन्दीप घिमिरेले बताउनुभएको छ । साढे दुईतले नगर अस्पतालको संरचना निर्माणको काम सकेर फिनिसिङको काम भइरहेको बताउनुभयो ।
अस्पताल निर्माणको मुख्य काम सकिएको र बाँकी फिनिसिङको काममा ढिलाइ नहुने भन्दै इन्जिनियर घिमिरेले भन्नुभयो, “भवन निर्माणको काम अहिले सन्तोषजनक नै छ । स्ट्रक्चर निर्माणको काम सकिएको छ, बजेटको समस्या नभए असार मसान्तसम्म सम्पूर्ण काम सकिने छ ।” अहिले काममा कुनै समस्या नभएको र तीव्र गतिमा निर्माणको काम भइरहेको समेत बताउनुभयो । अस्पताल निर्माणमा हालसम्म करिब छ करोड रुपियाँ खर्च भएको समेत इन्जिनियर घिमिरेले बताउनुभयो ।
अस्पतालको भवन निर्माणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बजेट व्यवस्थापन गर्ने र स्थानीय सरकारका रूपमा घोराहीले प्राविधिक रूपमा हेर्ने काम गरेको इन्जिनियर घिमिरेले बताउनुभयो । अस्पताल निर्माणका लागि १७ करोड ८० लाख ४५ हजार ९२ रुपियाँ लागत अनुमान गरिए पनि १० करोड ६६ लाख चार हजार ९०१ रुपियाँमा राजेन्द्र निर्माण सेवा प्रालि डडेलधुरासँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीको लापर्बाहीका कारण सम्झौता मितिमा अस्पताल बन्न सकेको थिएन । अस्पताल निर्माण भएपछि घोराही उपमहानगरपालिका–४ नम्बर वडासँगै ३, २ र १ नं. का नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । अहिले उक्त क्षेत्रमा विशेषज्ञ डाक्टरसहितको अस्पताल नहुँदा स्थानीयलाई बिरामी पर्दा घोराही बजार आउनुपर्ने बाध्यता रहेको छ ।