• ६ चैत २०८१, बुधबार

वन संवर्धन प्रणाली लागु

blog

वन संवर्धन प्रणाली लागु गरिएपछि संरक्षण भएका सालका रुख । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, चैत ६ गते । बाँके जिल्लाका विभिन्न सामुदायिक तथा चक्ला वनमा विशेष गरी सालका रुख जोगाउन वन संवर्धन प्रणाली लागु गरिएको छ ।

सालका रुख घट्दै गएका र कुकाठका रुखले वन भरिएपछि डिभिजन वन कार्यालयले जिल्लाका २४ सामुदायिक वन र एउटा चक्ला वनमा साल, अस्नालगायत प्रजातिका रुख संरक्षण गर्न वन संवर्धन प्रणाली सुरु गरेको हो ।

शमशेरगन्ज माथेबस चक्ला वनको दुई हजार ५७८ हेक्टर र त्रिशक्ति सामुदायिक वनसहित २४ वटा सामुदायिक वनका पाँच हजार ८२५ हेक्टर क्षेत्रफलमा वन संवर्धन प्रणाली लागु गरेर सालका रुखका साथै अन्य रुख बढाउने काम भइरहेको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टङ्कबहादुर गुरुङले बताउनुभयो ।  

कार्यालयले दुई हजार दुई सय हेक्टर नयाँ चक्ला वन विस्तार गर्ने कार्ययोजना बनाएको जनाउँदै वन संवर्धन प्रणाली लागु गरेपछि सालका रुखको संरक्षण हुन थालेको उहाँले जानकारी दिनुभयो ।

सूचना अधिकारी गुरुङले सामुदायिक वनका उपभोक्ताले सो प्रणालीबाट प्रशस्त मात्रामा लाभ लिएको उल्लेख गर्दै काठ र दाउरा पनि प्रशस्त उपभोग गरेको बताउनुभयो । यस प्रणालीबाट कतिपय ठुला सामुदायिक वनले त वर्षमा एक करोड रुपियाँको हाराहारीमा आम्दानी गरिरहेको पनि उहाँको भनाइ छ । 

सो प्रणालीबाट पिपल, वर, बेल र चराका वासस्थान (गुँड) हुने प्रजातिका रुखको समेत संरक्षण गरिएको जानकारी दिँदै ८० प्रतिशत सालका रुख र २० प्रतिशत अन्य रुखको संरक्षणमा जोड दिइएको डिभिजन वन कार्यालयले जनाएको छ । दुई वर्षअघिबाट मात्र बाँकेमा वन संवर्धन प्रणाली सुरु भएको थियो ।

डिभिजन वन कार्यालयका अनुसार जिल्लामा ११९ वटा सामुदायिक, चार धार्मिक, १०४ निजी र एउटा चक्ला वन रहेका छन् । बाँकेमा रहेको माथेबास शमशेरगन्ज चक्ला वन देशकै सबैभन्दा ठुलो चक्ला वन रहेको र सो वनका कारण वन संरक्षण तथा राजस्व सङ्कलनमा उल्लेख्य कार्य भइरहेकाले चक्ला वनलाई देशभरि विस्तार गर्ने योजना अगाडि बढेको पनि डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।