गजेन्द्र गुरुङ
खजुरा, चैत ५ गते । भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले उत्पादन गरेका चारपाङ्ग्रे साना इभी (इलेक्ट्रिक भेकल) सवारीसाधनको मङ्गलबार नेपालगन्जमा सार्वजनिक गरिएको छ ।
नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले हालै नेपालमा लञ्च भएका टाटाको उत्पादन तीनवटा नयाँ मोडलका इभी गाडी सार्वजनिक गरेको हो । नेपालगन्जस्थित बिक्रेता रुद्रप्रिया इन्टरनेशनलको सोरुममा टाटाको कर्भ ईभी, नेक्सन केथ्री इभी र टाटा टियागो इभी २०२५ तीनवटा नयाँ मोडल सार्वजनिक गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, सिप्रदी ट्रेडिङ प्रालिका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजङ्ग सिजापती र टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रङ्गनाथानले तीनवटै नयाँ मोडलका इभी गाडीहरुको संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो ।
सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सिजापतीले अन्य उत्पादनभन्दा टाटाका उत्पादन इभि गाडीहरुको खपतमा नेपालमै पहिलो नम्बरमा रहेको बताउनुभयो । सवारीसाधन बिक्रीपछि पनि सेवाग्राहीको मागअनुसारको हरेक सेवा सुविधा प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो ।
कर्भ इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपूर्ण र नेपालको बाटो सुहाउँदो प्रिमियम गाडी भएकाले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजाइमा पर्ने उहाँले बताउनुभयो ।
नेक्सन केथ्री ईभी अझ ठुलो ब्याट्रीमा धेरै रेञ्जमा उपलब्ध भएको भन्दै उहाँले टियागो ईभी २०२५ मोडल नयाँ लुक्स, नयाँ सुविधाहरु तर पुरानै मूल्यमा आएको बताउनुभयो । ग्राहकहरुले नेपालको बाटो सुहाउँदो तथा सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छाअनुसारले रोज्न सक्ने सिजापतीले बताउनुभयो ।
टाटा मोटर्सका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले अटोमोबाइल क्षेत्रमा टाटाको उत्पादन नेपाली बजारमा राम्रो खपत रहेको भन्दै टाटाको ग्राहकबाट प्राप्त हुने प्रतिक्रिया आफूहरुका लागि उपयोगी र मार्गदर्शन हुने बताउनुभयो । यसैका आधारमा नयाँ र मोडिफाइ सवारीहरु बजारमा ल्याउन सहज हुनेगरेको उहाँको भनाइ छ । ग्राहकलाई टाटा मोटर्सको स्टाइलिस, प्रिमियम नयाँ गाडीहरु ढुक्क भएर खरिद गर्न उहाँले आग्रह गर्नुभयो ।
विक्रेता रुद्रप्रिया इन्टरनेशनलका प्रबन्ध निर्देशक माधवप्रसाद शर्माले टाटा मोटर्सका आधुनिक र प्रिमियम गाडीहरु सार्वजनिक गर्न पाउँदा हर्षित भएको बताउनुभयो । ग्राहकको मागअनुसार सुविधासम्पन्न नयाँ मोडलका इभी गाडीहरु ल्याइएको उहाँले जानकारी दिनुभयो । आजबाट सार्वजनिक भएका कर्भ इभी, नेक्सन केथ्री र टाटा टियागो इभी गाडीहरु सेवाग्राहीका लागि टेष्ट ड्राइभको सुविधा प्रदान गरिएको शर्माले बताउनुभयो ।
आज र भोलि नयाँ मोडलका गाडीहरु बुक गर्न आउने सेवाग्राहीलाई सिप्रदीका तर्फबाट एक वर्षको निःशुल्क इन्स्योरेन्स, ब्याट्री र मोटरमा आठ वर्षको वारेन्टी तथा आठ वर्षसम्म नेपालभर चार्जिङमा फ्री सेवासमेत प्रदान गरिने प्रबन्ध निर्देशक शर्माले जानकारी दिनुभयो ।
कर्भ इभीगाडीको ५६ लाख ९९ हजार, नेक्सन केथ्री इभीको ४८ लाख ९९ हजार र टाटा टियागो इभीको २९ लाख ९९ हजार रुपियाँ मूल्य रहेको उहाँले जानकारी दिनुभयो । कर्भ इभीको चारसयबढी किलोमिटर, नेक्सन केथ्री को ३५० बढी किलोमिटर र टाटा टियागो इभीको २५० बढी किलोमिटर रेञ्ज रहेको उहाँले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नयाँ इभी गाडीहरु वातावरणमैत्री हुने हुँदा इन्धन गाडीभन्दा सकारात्मक भएको बताउनुभयो । उहाँले सन् २०३० सम्म इन्धन गाडी हटाएर वातावरणमैत्री इभी गाडीहरु मात्र चल्ने लक्ष्यअनुसार ग्राहकको पनि रोजाइमा इभी गाडीहरु परेको बताउनुभयो ।
“हाम्रो देशमा इन्धन उत्पादन छैन, सधैभरी अरुको भर पर्नुपर्छ, केही कारणवश इन्धन आयात हुन नसकेमा, अभाव भएमा पनि इभी गाडीहरुले सुविधा दिन सक्छन्” उहाँले भन्नुभयो, “नेपालमै उत्पादन भएको ऊर्जा सस्तोमा प्रयोगगरी वातावरण प्रदूषणबिना नेपालको उत्पादन प्रयोग गरी इभी गाडीहरु चढ्न सकिन्छ, सबै सेवाग्राही र ग्राहकको यसप्रति ध्यान जानु जरुरी छ ।”