• ५ चैत २०८१, मङ्गलबार

एसइई तयारीबारे केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण

blog

मङ्गलबार सदरमुकाम मलङ्गवामा आयोजित केन्द्राध्यक्षहरुको अभिमुखीकरण । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, चैत ५ गते । सर्लाहीमा बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी अन्तिम चरणमा पुगेको छ । मङ्गलबार जिल्लाका ३८ वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई परीक्षा सञ्चालनका सम्वन्धमा अभिमुखीकरण प्रदान गरिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३८ परीक्षा केन्द्रमध्ये ३७ वटा परीक्षा केन्द्रमा सोही विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका –३, हरकठवामा भने विद्यालयका प्रधानाध्यापक र दरबन्दीमा रहनुभएका अर्का एक माध्यमिक तहका शिक्षकले केन्द्राध्यक्ष बन्न इन्कार गर्नुभएको छ । सो विद्यालयमा केन्द्राध्यक्षका रुपमा सर्लाही जिल्लाभर माध्यमिक तह प्रथम श्रेणीका दुई जना शिक्षकमध्ये एक जना देवधारी माध्यमिक विद्यालय कौडेना गाउँपालिका –१, सुन्दरपुरमा कार्यरत जितेन्द्रकुमार कर्णलाई नियुक्त गरिएको छ । 

केन्द्राध्यक्षको अभिमुखीकरणमा जिल्ला परीक्षा समन्वय समिति सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले एसइईलाई अनुशासित र मर्यादित बनाउन जिम्मेवारीपूर्वक काम गर्न केन्द्राध्यक्षलाई निर्देशन दिनुभएको छ । सिडिओ श्रेष्ठले परीक्षा केन्द्रमा मोवाइल फोन पूर्णरुपमा निषेध गर्न र त्यसको कडाईका साथ निगरानी गर्न समेत केन्द्राध्यक्षलाई निर्देशन दिनुभएको छ । 

एसइई सञ्चालनका लागि सर्लाहीका प्रत्येक परीक्षा केन्द्रमा उत्तरपुस्तिका र परीक्षा केन्द्र रहेको विद्यालयनजिक पर्ने प्रहरी कार्यालयमा प्रश्नपत्र समेत पठाइसकिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख एवं उपसचिव मोतीप्रसाद भट्टराईले बताउनुभयो । सर्लाहीमा एसइई सञ्चालनका लागि गत वर्षकै सङ्ख्यामा अर्थात् ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिए पनि एउटा परीक्षा केन्द्र परिवर्तन गरिएको छ । 

बागमती नगरपालिका –१, मिलनचोकस्थित जनता माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्र हटाएर गोडैता नगरपालिका –१०, सिसौटियास्थित नारायणहरि माध्यमिक विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । 

मिलनचोकको विद्यालयमा परीक्षा केन्द्र परेका विद्यालयमा यो वर्ष एसइई दिने विद्यार्थी न्यून भएपछि गत वर्ष त्यहाँ परीक्षा केन्द्र परेका विद्यालयको श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालय बागमती र चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालय सुखेपोखरीमा परीक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जनाएको छ । एसइईमा सहभागी हुन सर्लाहीमा १२ हजार ३४ जना परीक्षार्थीले फारम भरेका छन् ।