राममणि दाहाल
हेटौँडा, चैत ५ गते। मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ बुहमुखी क्याम्पसमा मंगलबारका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ।
क्याम्पसले असहज परिस्थितिका कारण निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको हो। क्याम्पस प्रमुख राजन मिश्रले क्याम्पसमा मंगलबारका लागि निर्धारित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको प्रक्रिया अगाडि बढाउने क्रममा सबै तयारी भएकोमा असहज अवस्था सिर्जना भएकोले निर्वाचन स्थगित गरिएको बताउनुभयो।
उहाँले निर्वाचन स्थगित गरिएको सूचना मंगलबार जारी गर्दै भन्नुभएको छ, ‘क्याम्पसमा उत्पन्न असहज परिस्थितिका कारण निर्वाचन गराउन असमर्थ भएको र निर्वाचन समितिले राजीनामा दिएकोले अर्को सूचना नभएसम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ।’
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने जिम्मेवारी पाएको निर्वाचन समितिले मंगलबार राजीनामा दिएसँगै स्ववियु निर्वाचन अनिश्चित बनेको हो।
निर्वाचन समितिका संयोजक कुमार नेगी तथा सदस्यद्वय हरिकृष्ण कार्की र मीना महर्जनले क्याम्पस प्रमुखसमक्ष राजीनामा दिनुभएको हो।
यस्तै मंगलबार नै मतदाता नामावलीमा नाम थप गरेको र केही विद्यार्थीलाई छात्रवृत्तिको आश्वासन दिएर उम्मेदवार बनाएको भन्दै आपत्ति जनाउँदै आएको नेविसंघले आफ्ना माग सम्बोधन नगरी निर्वाचन गर्न लागेको भन्दै क्याम्पसमा मंगलबार तालाबन्दी गरेको थियो। तालाबन्दीपछि समस्या समाधान गर्न सर्वपक्षीय बैठक बसेपनि ठोस निर्णयमा पुग्न सकेन।
निर्वाचन सुरु हुन नसकेपछि क्याम्पसमा तनावको अवस्था सिर्जना भएको थियो।
जिल्लाका चार वटा क्याम्पसमा मतदान सम्पन्नभएको छ। त्रिभुवन विश्वविद्यालयका जिल्लामा रहेका आंगिक र सम्बन्धन प्राप्त गरी सात वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने तय भएकोमा दुई वटा क्याम्पसमा यसअघि नै स्ववियु नेतृत्व सर्वसम्मत् चयन भइसकेको छ।
मकवानपुर बहमुखी क्याम्पस, हेटौँडा क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसमा निर्वाचन भएको हो। क्याम्पसमा विद्यार्थी संगठनहरुले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गरेका थिए।