• ५ चैत २०८१, मङ्गलबार

परराष्ट्रमन्त्री डा राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र मल्दोभाका उपप्रधान एवम् विदेशमन्त्री मिहाइ पोपसोइबिच मङ्गलबार नयाँ दिल्लीमा भेटवार्ता हुँदै । तस्बिर : परराष्ट्र मन्त्रीको सचिवालय

काठमाडौं, चैत ५ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार नयाँ दिल्लीमा भेटवार्ता गर्नु भएको छ । भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज सो भेटवार्ता भएको हो । 

सो भेटका क्रममा नेपाल मल्दोभा सम्बन्ध र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा राणाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै यस समस्यासँग जुध्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको जानकारी मन्त्री राणाको सचिवालयले दिएको छ । 

त्यस अवसरमा मन्त्री डा राणाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपालले तयारी गरिरहेको र त्यसपछि नेपाललाई आवश्यक पर्ने सहायताका बारेमा पनि जानकारी दिनुभएको थियो । साथै उहाँले नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्यलगायतमा दिएको उम्मेदवारीका बारेमा जानकारी दिँदै त्यसमा मल्दोभाको सहयोगका लागि आग्रह पनि गर्नुभएको थियो । 

मन्त्री डा राणाले यसै हप्ता हुन लागेको विदेशमन्त्री मिहाइ पोपसोइको नेपाल भ्रमणबाट पनि दुई देशबीचको सम्बन्धलाई थप गतिशील बनाउन सहयोग पुग्ने धारणा राख्नुभएको थियो ।