• ५ चैत २०८१, मङ्गलबार

मोरङको धनपालथानमा आगलागी : एक बालिकाको मृत्यु

blog

शशिधर पराजुली

विराटनगर, चैत ५ गते । मोरङको धनपालथान गाउँपालिका ६ स्थित कदमाहामा भिषण आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ । आगलागीबाट स्थानीय मुस्लिम बस्तीका १२ घरसहित १६ वटा टहरा जलेर नष्ट भएको छ । 

आगलागीमा परेर तीन वर्षे बालिका रेश्मा खातुनको मृत्यु भएको मोरङ प्रहरीका एसपी नारायण चिमरियाले जानकारी दिनुभयो । आगलागीका कारण भएको भागदौडका क्रममा हराएका भनिएका अर्का बालक भने सकुशल फेला परेको प्रहरीले जनाएको छ । 

अहिले प्रहरी, स्थानीय र वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आइसकेको प्रहरी उपरीक्षक चिमरियाले जानकारी दिनुभयो । 

बिहानैदेखि हावा चलिरहेको र गर्मी बढेसँगै सुख्खापन बढ्दै गएको बेला आगलागी भएको हो । फुसका घरहरु नजिकै भएको र परालको मचान पनि सँगै रहेका कारण आगो गाउँमा फैलिएको थियो । दिउँसो १२ बजेतिरबाट आगलागी सुरु भएको हो । 

प्रहरीले घटनास्थलबाट क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ ।