रामकृष्ण बोहरा
बागलुङ, चैत ५ गते । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भइरहेको छ । निर्वाचन अधिकृत गोविन्द गौतमले बिहान ८ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण वातावरणमा भैरहेको जानकारी दिनुभयो ।
एक हजार ४ सय ७४ जना मतदाता रहेको क्याम्पसमा अधिकांश मत खस्ने आङ्कलन गरिएको छ । चार वटा बुथ बनाएर प्रत्यक्ष र समानुपातीक प्रणालीका लागि मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृत गौतमले बताउनुभयो ।
विगतभन्दा यसपटकको स्ववियु चुनाव सौहार्दपूर्ण रुपमा चलिरहेको निर्वमान क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले बताउनुभयो । "यसपटक विद्यार्थी सङ्गठनबिच हुने वादविवाद, झैझगडा गर्ने जस्ता उच्श्रृंखला कार्य देखिएन्," उपाध्यायले भन्नुभयो ।
स्वतन्त्र विद्यार्थी युनियनको आगामी कार्यकालका लागि धौलागिरी बहुमुखी क्याम्पसकै इतिहासमा पहिलो पटक दुई महिला उमेद्वार नेतृत्वमा दुई समुह चुनावी मैदानमा छन् ।
अखिल संयुक्तबाट अनेरास्ववियूकी आश्मिन शेखको नेतृत्वमा विद्यार्थीहरु चुनावी मैदानमा छन् भने नेपाल विद्यार्थी संघबाट सृष्टि आचार्य नेतृत्वको प्यानल चुनावी प्रतिष्पर्धामा छ । स्वतन्त्र उमेद्वारी दिनुभएका नेविसंघका दिपक सुवेदीले उमेद्वारी फिर्ता लिएपछि धौलागिरि बहुमुखी क्याम्पसको स्ववियू चुनावमा द्विपक्षीय प्रतिष्पर्धा हुँदै छ । आचार्य र सेख स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।
एमाले, माओवादी, जनमोर्चा, नेकपा एस र राप्रपा निकट विद्यार्थी संगठनको संयुक्त प्यानल र नेविसंघ एक्लै चुनावी मैदान छ । धौलागिरिकै आंगिक क्याम्पस भएकोले राजनीतिक दल, सामाजिक क्षेत्र र आम नागरिकले स्ववियु चुनावलाई चासोका साथ हेरेका छन् ।
स्ववियु चुनावलाई कांग्रेस र एमालेले प्रतिष्ठाको विषय बनाएको देखिन्छ । स्ववियु इतिहासमा कांग्रेस–एमालेको नेतृत्व रहेपनि पछिल्लो चार कार्यकाल नेविसंघले नेतृत्व गरिरहेको छ ।