काठमाडौँ, चैत्र ५ गते । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक [आइजिपी] दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
मङ्गलवार बिहान गृह मन्त्रालयमा एक समारोहका बिच गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औँ आइजिपी बन्नुभएको छ । दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्न प्रयत्न गर्ने बताउनु भयो । अपराधको रोकथाम र अनुसन्धान कुनै पनि बहाना र विकल्प बिना अघि बढाउने प्रतिबद्धता जनाउनु भयो । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा अमन चयन र कानुनी राज्यको प्रत्याभूति दिलाउन आफूले पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै गृह सचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकको शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यका लागि काम गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक, इमानदारिताका साथ पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले शान्ति सुरक्षा र सुव्यवस्थाको विषय देखिने विषय मात्रै नभई अनुभूत गर्ने विषय भएकाले आम नागरिकले अनुभूति गर्ने गरी शान्ति सुव्यवस्था कायम गर्नु सबैको कर्तव्य भएको बताउनु भयो ।
आम नागरिकका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताउनु भयो । उहाँले सरकारप्रति नकारात्मक धारणा आइरहेको अवस्थामा सुरक्षा चुनौती पनि थपिरहेको बताउनु भयो । सडक दुर्घटना न्यूनीकरण, लागूपदार्थ दुर्व्यसनका घटना न्यूनीकरण गर्न,साइबर अपराधका घटनाहरूको न्यूनीकरण जरुरी रहेको बताउनु भयो ।