• १६ चैत २०८०, शुक्रबार

आगामी आवको बजेट : निर्यात प्रवर्द्धन र कृषिका कार्यक्रम सकारात्मक

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १९ गते । सांसदहरूले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा निर्यात प्रवर्द्धन र कृषिका कार्यक्रम सकारात्मक भएको बताउनुभएको छ ।

प्रतिनिधिभसभाको आजको बैठकमा बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिनुहुने सांसदहरूले मुलुकको अहिलेको आावश्यकताअनुसार सरकारले कृषि र निर्यातलाई प्राथमिकतामा राखेको भन्दै प्रशंसा गर्नुभयो । साथै उहाँहरुले कार्यान्वयनमा चुनौती रहेकामा सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।

बैठकमा सांसद पूर्णकुमारी सुवेदीले बजेट समग्रमा राम्रो भएको बताउँदे बजेटले शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगार युवाका लागि कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो । कृषिमा रुपान्तरण राम्रो पक्ष भएको उल्लेख गर्दै उहाँले वनको संरक्षण गरी सदुपयोग गर्ने खालका थप कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

सांसद सरलाकुमारी यादवले निर्यात बढाउन आवश्यक पूर्वधार बढाउनुपर्ने बताउँदै मुलुक आर्थिक सङ्कटमा भए पनि आत्तिने अवस्था छैन भन्नुभयो । निजी क्षेत्र र निर्यात क्षेत्रलाई प्राथमिकतामा राखेको बजेट सकारात्मक भएको उहाँको भनाइ थियो ।

सांसद खगराज अधिकारीले सरकारले उत्पादन सिर्जना गर्नुपर्ने बताउँदै शेयरबजार दैनिक घटेको र अर्थतन्त्रलाई माथि उठाउने खास योजना नदेखिएको टिप्पणी गर्नुभयो । आफू स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम ल्याएको र सो कार्यक्रम अहिले निजी क्षेत्रलाई दिने कुरा गलत छ भन्नुभयो । साथै उहाँले बजेटमा हिजोका विकासलाई प्रतिस्थापन गरी नयाँ कार्यक्रम ल्याएको बताउनुभयो ।

सांसद एकवाल मियाँले गठबन्धनले गर्दा स्थानीय तहको निर्वाचनमा महिला पछाडि परेको उल्लेख गर्नुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने ठाउँमा रुख नभएको भन्दै किन रोक्नुपर्‍यो भनी प्रश्नसमेत गर्नुभयो ।

सांसद सीतादेवी यादवले बजेट राम्रो भएको तर कार्यान्वयन प्रभावकारी हुन जरुरी रहेको उल्लेख गर्दै सरकारले ९८ प्रकारको औषधि निःशुल्क प्रदान गर्ने भनिए पनि स्वास्थ्यचौकीमा औषधि नपाइने गरेको बताउनुभयो ।

सांसद लक्ष्मणलाल कर्णले बजेटमा धेरै कार्यक्रम भएकाले कार्यान्वयनमा गाह्रो हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भावनामा कुरा गरेर कल्पनामा देश नचल्ने बताउँदै यथार्थमा रहेर कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले कृषिमा आत्मनिर्भर बनाउन चक्लाबन्दी कानुन लागू गर्नुपर्ने, कृषि उपकरणमा पर्याप्त सहुलियत दिनुपर्ने, सहकारी नीति लागू गर्नुपर्ने, सिँचाइको पर्याप्त सुविधा हुनुपर्ने सुझाव दिनुभयो ।

सांसद महोम्मद इस्तियाक राईले बजेटमा रहेका कार्यक्रम कार्यन्वयनमा चुनौति रहेको बताउनुभयो । उहाँले बजेटमा बाँकेका धेरै कार्यक्रम छुटेको बताउँदै पश्चिम नेपालको महत्वपूर्ण नेपालगञ्जको विमानस्थलको स्तरोन्नति गर्ने कार्यक्रमसमेत नभएको गुनासो गर्नुभयो । विद्युतीय सवारीसाधन र ड्राइफुडमा लगाइएको कर केही सीमित व्यक्तिलाई पोस्न ल्याइएको हो कि भनी उहाँले शङ्का गर्नुभयो ।

सांसद डा शिवमाया तुम्बाहाम्फे बजेट चुनावलक्षित भएको र हुबहु कार्यान्वयन हुन नसक्ने दाबी गर्दै समाजवादोन्मुख देखिएकोसमेत टिप्पणी गर्नुभयो । सबै सुकुम्बासी, भूमिहीन दलित र घरबारविहीनलाई उचित र समानरूपमा जग्गा र वासस्थानको व्यवस्था मिलााउनुपर्ने माग गर्नुभयो ।

सांसद दिव्यमणि राजभण्डारीले कृषि क्षेत्रमा क्रान्तिकारी कार्यक्रम रहेको उल्लेख गर्दै किसानलाई राहत दिने कार्यक्रम राम्रो छ भन्नुभयो । उहाँले मलखादको समयमै व्यस्थापन गर्न सुझावसमेत दिनुभयो । बजेटमा पर्यटनमा १० लाख भित्र्याउने लक्ष्य राम्रो भएको बताउँदै उहाँले यसबाट आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गर्नुभयो । बजेट कार्यान्वयका लागि बाँकी आवश्यक प्रावधान मौद्रिक नीतिमा समेट्नुपर्ने उहाँको भनाइ थियो ।