• ५ चैत २०८१, मङ्गलबार

‘रङ्गमञ्चमा सबैलाई निर्देशक बन्ने हतारो छ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ५ गते  । रङ्गकर्मी नवीनचन्द्र अर्याल रङ्गमञ्चमा प्रवेश गर्दा गाह्रो हुने तर यसललाई बुझ्दै जाँदा सजिलो हुने बताउनुहुन्छ । रङ्गमञ्चमा १० वर्ष बिताइ सक्नुभएका अर्यालले यस क्षेत्रमा सक्रिय हुन तीन जना साथी जीवन दाहाल, रूपेस लामा र दीपेन्द्र शाहीको सहयोग रहेको स्मरण गर्नुहुन्छ । सानैबाट अभिनय गर्ने हुटहुटी भएका अर्यालले विजय विस्फोट, सुनील पोखरेल, सर्वनाम थिएटर, चे शङ्करसुलक्षण भारती, आकाङ्क्षा कार्कीसँग नाटकको कार्यशाला लिइसक्नुभएको छ । यी रङ्गकर्मीबाट धेरै कुरा सिक्न पाएको उहाँ बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “रङ्गमञ्चमा पहिलो पटक नाटक गर्दा मनमा धेरै डर लागेको थियो । कलाकारको हिसाबले भन्ने हो भने नाटक गरेर अभिनयको एक जग बस्छ । धेरै मेहनत गर्ने बानी बस्छ,” उहाँ भन्नुहुन्छ, “जीवनको धेरै आयामलाई नजिकबाट रङ्गमञ्चले बुझाउँछ ।” उहाँका अनुसार अहिले रङ्गमञ्च लयबद्ध हिसाबले अघि बढिरहेको छ । यहाँ नाटक त गरिन्छ तर मनबाट होइन रङ्गकर्मीलाई केवल मैले नाटक मञ्चन गरेको छु है भनेर देखाउने हतारो छ । अहिले पनि कामको हिसाबले रङ्गमञ्चमा चुनौती नै छ । रङ्गमञ्च अहिले केही व्यवस्थित भएको उहाँको अनुभव छ । आर्थिक हिसाबले थोरै भए पनि माथि उठेको छ, उहाँले भन्नुभयो, “पहिलेभन्दा रङ्गमञ्चमा अहिले धेरै परिवर्तन भएका छन् ।”

झोला हराएको मान्छे, उलार, धुमधामको घुमघाम, कोही किन बर्बाद होस्, हरियो ढुङ्गालगायत एक दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसक्नुभएका अर्यालले ‘अर्को अर्थ नलागेकोमा’ निर्देशन गरिसक्नुभएको छ । साथै उहाँले गायक सुशान्त घिमिरेको ‘मनचरी’ र ‘जिन्दगी सरर’ बोलको गीतमा अभिनय पनि गर्नुभएको छ ।