• ५ चैत २०८१, मङ्गलबार

गहुँ आयात गर्नेलाई सम्पर्क गर्न आग्रह

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत ५ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट प्राप्त हुुने कोटाको गहुँ आयात गर्न छनोट भएका फर्म वा कम्पनीलाई सात दिनभित्र विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । विभागले आइतबार सूचना सार्वजनिक गर्दै गहुँ आयातका लागि छनोट भएका सात वटा व्यवसायी फर्म वा कम्पनीलाई सातभित्र विभागमा सम्पर्क गर्न आग्रह गरेको हो ।

विभागका अनुसार इजाजतपत्र नलिने फर्म वा कम्पनीले यस सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र विभागमा सम्पर्क गरेर इजाजतपत्र लिनसमेत आग्रह गरिएको छ । 

विभागका अनुसार छनोटमा परेका कम्पनीमा काठमाडौँका विशाल ट्रेड लिङ्क, श्यामबाबा इन्टरप्राइजेज, गुन्जेश्वरी ट्रेड लिङ्क, वीरगन्जका जोस नेपाल ट्रेडर्स, कैलालीका मन्सा इन्टरनेसनल, काठमाडौँ डिल्ली बजारका दुर्गा ब्रदर्स कन्सर्न र ज्ञान इन्टरप्राइजेजलगायत ४१ वटा रहेका छन् । ती फर्मले ९० हजार कुइन्टल गहुँ आयात गर्नेछन् । प्रत्येक कम्पनीलाई तीन हजार टनका दरले गहुँ आयात गर्ने अनुमति दिइएको विभागले जनाएको छ ।

भारतको नेसनल कोअपरेटिभ एक्स्पोर्ट लिमिटेडबाट कोटा प्राप्त भएको मितिले तीन महिनाभित्र गहुँ आयात गरिसक्नुपर्ने छ । साथै आयात अनुमति लिएका कम्पनीले गहुँ ल्याउन नसक्ने भए १५ दिनभित्र विभागलाई जानकारी दिनुपर्ने छ । विभागले ५९ वटा व्यापारिक प्रतिष्ठानका आवेदन प्राप्त भए पनि केवल सात वटालाई मात्र छनोट गरेको जनाएको छ । 

विभागले गत माघ १४ देखि २० गतेसम्मको समय राखेर भारतबाट कोटाको गहुँ आयात गर्न आवेदन माग गरेको थियो । ती फर्मले न्यूनतम दुुई सय टन र बढीमा १० हजार टनसम्म गहुँ आयात गर्न पाउने सर्त राखेको थियो ।

भारतले निर्यात बन्देज लगाए पनि नेपाललाई वार्षिक ५० हजार टन आयातको अनुमति दिएको थियो । उक्त परिमाण अपुग भएपछि गत वर्ष तीन लाख टनको माग गरिएको थियो । भारतले तीन लाखमध्ये दुुई लाख टन अनुमति दिएको हो । दुुई लाख टनमध्ये वाणिज्यले ९० हजार टन आयात गर्ने छ भने एक लाख टन उद्योग विभाग र १० हजार टन साल्ट ट्रेडिङले आयात गर्ने जनाइएको छ । उद्योग विभागले औद्योगिक प्रयोजन र साल्टले व्यापारिक प्रयोजनका लागि आयात गर्ने छन् । 

भारतले २०७९ वैशाखमा गहुँ निर्यातमा रोक लगाएको थियो । रुस र युव्रmेन द्वन्द्वका कारण ‘ब्ल्याक सी’ क्षेत्रबाट हुने ढुवानी घटेपछि विश्वभरका खरिदकर्ताले भारतबाट गहुँ किन्न खोजिरहेको भारतीय सञ्चार माध्यमले जनाएका थिए । भारतले पनि खाद्य सुरक्षालाई ध्यानमा राखेर निर्यात बन्देज गरेको हो ।

भारतले बन्देज गरेपछि त्यसको असर बजार मूल्यमा परेको छ । खुद्रा व्यापार सङ्घका अनुसार २०७८ फागुनमा गहुँको मूल्य ५० र मैदा ५५ रुपियाँ थियो । २०७८ चैतमा मूल्य बढेर गहुँ प्रतिकेजी ५५ र मैदा ६० रुपियाँ पुग्यो । २०८१ माघमा आइपुग्दा गहुँको मूल्य बढेर ७५ रुपियाँ र ९० रुपियाँसम्म पुगेको छ ।