• १३ पुस २०८१, शनिबार

बजेट कार्यान्वयन हुनुपर्छ : सांसद थापा

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १९ गते । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थतन्त्रको अहिलेको समस्या, सङ्कटको चूरो भनेको व्यापार घाटा रहेको बताउनुभएको छ ।

सांसद थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको सुझाव दिनुभयो ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद थापाले आयातबाट उत्पादनतर्फको स्पष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीले ल्याउनुभएको बजेट उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले बजेटले वैदेशिक व्यापार घाटा घटाउन र कृषि प्रर्वधन गर्नका लागि राम्रा योजना ल्याएको भए पनि पारदर्शिकता सन्दर्भमा प्रश्न उठ्ने गरेको बताउनुभयो ।

‘पूर्ववर्ती सरकारले बजेट ल्याउँदा हामीले प्रश्न गर्यौं–यो बजेटको नारा ‘समृद्ध झापा, सुखी झापाली हो’ । यसपटक मानिसहरुको भनाइ के छ भने–पूर्वबाट बजेट आयो, पूर्वतिरै टुङ्गियो र पश्चिमबाट बजेट आयो, पश्चिमतिरै सकियो । यसले कोसीपारि देख्दै देखेन ।’’ उहाँले भन्नुभयो ।

“बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ”, उहाँले भन्नुभयो, “तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ, व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ ।”

सांसद थापाले मन्त्रालयहरूले आफ्नो प्राथमिकता बताएअनुसार बजेट आएको र सामाजिक सुरक्षाका कुरा स्वागतयोग्य भएको बताउनुभयो ।

“सामाजिक सुरक्षाका विषय स्वागतयोग्य छन्”, उहाँले भन्नुुभयो, “प्रत्येक सरकारले सामाजिक सुरक्षाका विषय थप्दै जाँदा दायित्व पनि बढ्दै जान्छ, यस कुरालाई ध्यान दिनुपर्छ ।”

उहाँले बजेटका स्रोतहरूमा पारदर्शितामा स्पष्ट हुनुपर्ने र बजेट भनेको भाग्यको चिठ्ठाजस्तो हुन नहुने सुझाव दिनुभयो ।