रमेश पौडेल
पोखरा, चैत ३ गते । पोखराको फेवातालमा रहेको जलकुम्भी हटाउने अभियान पुनः सुरु भएको छ । “वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी” भन्ने मूल नारासाथ यस वर्ष जलकुम्भी सरसफाई अभियानको आइतबार शुभारम्भ गरिएको हो ।
जलकुम्भीको कारण तालको सुन्दरता घटेकाले सो अभियान सुरु गरिएको हो । पोखरा –१८ खपौदी ढल्केबरस्थित फेवतालमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजना रहेको सो अभियानको अध्यक्षता गर्दै नागरिक महाअभियान कास्कीका संयोजक समेत रहनुभएका रामबहादुर पौडेलले फेवातालको सिरानदेखि जलकुम्भी भरिँदै जाँदा तालमाथि ठुलो चुनौती देखिएकाले नागरिकस्तरबाट सफाइ अभियान अघि बढाइएको बताउनुभयो ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिका कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले फेवाताल पोखराको आकर्षण केन्द्र रहेको र यसको संरक्षण तथा सरसफाई गर्नु सबै जनसमुदाय तथा सरोकारवाला निकायको जिम्मेवारी तथा दायित्व रहेको बताउनुभयो । पोखराबासीले पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख आकर्षकका रुपमा रहेको फेवातालको सौन्दर्यता, सफाई र स्वच्छताका लागि सञ्चालन गरिने यस्ता कार्यक्रम महत्वपूर्ण हुने भएकाले यस्ता सामाजिक कार्यमा सशस्त्र प्रहरीको सक्रिय सहभागिता रहने बताउनुभयो ।
यस जलकुम्भी सरसफाई अभियानलाई सोमबारदेखि निरन्तरता दिइने जानकारी नागरिक समाज कास्कीका संयोजक पौडेलले दिनुभयो । सरसफाइ शुभारम्भ कार्यक्रममा पोखरा महानगरका वडा नं. ६ र १८ का वडाध्यक्षसहित विभिन्न समूहका अभियन्ताहरु, आमा समूहहरु, जलहारी समुदाय, सशस्त्र प्रहरी बल, नेपाल कालिका गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजनलाल श्रेष्ठको कमाण्डमा एकसय जना, नेपाल प्रहरीलगायत स्थानीय र सञ्चारकर्मी गरी करिब तीनसय जनाको सहभागिता थियो ।