• ३ चैत २०८१, आइतबार

नगरवासीका गुनासैगुनासा

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), चैत ३ गते । बेनी नगरपालिकाप्रति नगरवासीले गुनासैगुनासा पोखेका छन् । नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले विकास निर्माण र सेवा प्रवाहका बारेमा गुनासो पोखेका हुन् ।  

वडा नम्बर १० स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रमका सहभागीले सडकलगायतका पूर्वाधार निर्माणमा गुणस्तर नभएको, निर्माणको चरणमा रहेको बेनी पात्लेखेत सडकमा निर्माण व्यवसायीले अप्ठ्यारो स्थानमा काम नगरेको गुनासो पोखेका थिए । 

वास्तविक किसानले अनुदान नपाएको, वडा कार्यालयमा वडा सचिव तथा प्राविधिक फेरबदल भइरहँदा वा रिक्त रहँदा कार्यसम्पादनमा समस्या उत्पन्न भएको, पात्लेखेतलाई आलु पकेट क्षेत्र घोषणा गरे पनि सो अनुसारको कार्यक्रम तथा सहयोग नपाएको उनीहरूको भनाइ छ । जग्गाको तिरोलगायतको राजस्व बढी तिर्नु परेको, स्वास्थ्य चौकीमा औषधी अभाव भएको, जग्गा नापीका लागि अमिनलाई बढी रकम तिर्नु परेको गुनासो पनि गरिएको थियो ।   

त्यस्तै सहभागीले निर्वाचनको समयमा पाँच वर्षमा पात्लेखेतसम्मका सडक कालोपत्रे गर्ने भनेर गरेको घोषणालाई कार्यान्वयन गराउन जनप्रतिनिधिलाई आग्रहसमेत गरेका थिए । नगरवासीले सरकारी विद्यालयको पढाइ खस्किँदै गएको, योजनामा नियमित अनुगमन नभएको, एउटै रकमको योजनामा कतै थोरै र कतै धेरै काम गर्न लगाइएको गुनासो राखेका थिए । कर्मचारीलाई नागरिकप्रति उत्तरदायी र जवाफदेही भएर सेवा प्रवाह गर्नसमेत नगरवासीले आग्रह गरेका थिए । 

सहभागीले उठाएको प्रश्नको जवाफ दिँदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पात्लेखेतवासीको सहजताका लागि नेप्टेचौरदेखि पात्लेखेत जाने तल्लो बाटो निर्माण सुरु गरेको बताउनुभयो । उहाँले बेनी पात्लेखेत सडक अन्तर्गत बेनपा–९, नेप्टेचौरको एक/दुई ठाउँमा जमिन कमजोर भएका कारण काम नगरिएको तर अप्ठ्यारो ठाउँ भनेर नछोडिएको बताउनुभयो ।

प्रदेश सरकारबाट बजेट अभावका कारण अहिले निर्माण व्यवसायीले काम रोकेको र बजेट व्यवस्थापनपछि अर्को वर्ष सडक कालोपत्रे हुने उहाँले बताउनुभयो । उहाँले नगरपालिकामै अमिनको व्यवस्था रहेकाले जग्गा नापजाँचका लागि बाहिर अमिन खोज्न नजान आग्रह गर्नुभयो । प्रदेश लोक सेवाले समयमै आवश्यकता अनुसारको कर्मचारी नपठाउँदा समस्या भएको भन्दै त्यसका लागि आवश्यक समन्वय गर्ने बताउनुभयो । उहाँले पात्लेखेतलाई आलु पकेट क्षेत्रका रूपमा लिइएकाले थप कार्यक्रम तथा योजना सञ्चालन गरिने बताउनुभयो । उहाँले शिक्षामा सुधार गर्न विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिसँग अन्तर्क्रिया कार्यक्रम निरन्तर सञ्चालन गरिएको बताउनुभयो । 

उपप्रमुख ज्योति लामिछानेले नगरपालिकाले नगरवासीलाई आयआर्जन तथा उत्पादनसँग जोडिने खालका तालिम तथा अन्य कार्यक्रम सञ्चालन गरिरहेकाले सहभागी भई लाभ लिन आग्रह गर्नुभयो । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले दोस्रो चौमासिकसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यसम्पादन र सेवा प्रवाहलाई चुस्त बनाइएको बताउनुभयो । हालसम्म चालुतर्फ कुल बजेटको ५४ प्रतिशत र पुँजीगततर्फ ३२ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । दोस्रो चौमासिकसम्म दुई करोड १० लाख १७ हजार राजस्व सङ्कलन गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।