• ३ चैत २०८१, आइतबार

आधारभूत सुविधाबाट वञ्चित सिमलकुनावासी

blog

बबई नदीमा निर्माण गरिएको अस्थायी पुल । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता

घोराही, चैत ३ गते । विकास निर्माणले नजोडिँदा पश्चिम दाङको सिमलकुना गाउँ अझै पनि आधारभूत सुविधाबाट वञ्चित हुन पुगेको छ । भौगोलिक विकटताका कारण सडक, सञ्चार, विद्युत्, स्वास्थ्य, खानेपानीलगायतका पूर्वाधारबाट स्थानीय वञ्चित छन् । 

बबई गाउँपालिका–१ अन्तर्गत पर्ने सिमलकुनाका स्थानीयले अझै १२ महिना गाडी चल्ने बाटो बन्न नसकेको बताउँछन् । गाउँमा दुःख बिरामी पर्दा हापुरे बजारसम्म आउनका लागि सबैभन्दा पहिले सडक बन्नुपर्ने भए पनि नबनेको सिमलकुना निवासी ५१ वर्षीय खिमबहादुर वलीले बताउनुभयो । 

भरपर्दो सडकसँगै बबई नदीमा पुल नहुँदा हिउँदमा चल्ने तर पानी पर्न थालेपछि गाडी सञ्चालन हुन नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले असारदेखि कात्तिक, मङ्सिरसम्म गाडी नचल्ने गरेको बताउनुभयो । 

बबई नदीमा पानी कम भएसँगै हिउँदमा ह्युमपाइप राखेर अस्थायी पुल निर्माण गरेर ट्याक्टर, ट्याक्सी, अटोलगायत मोटरसाइकल सञ्चालन हुने गरे पनि यो दीर्घकालीन नभएको उहाँको भनाइ छ । 

बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले भौगोलिक विकटताका कारण पूर्वाधार पुर्‍याउन समस्या भए पनि पछिल्लो समय बिस्तारै सिमलकुनालाई विकासका पूर्वाधारले जोड्ने काम भइरहेको बताउनुभयो । सडकसँगै सञ्चार सुविधा पुर्‍याउनका लागि मलईमा टेलिकमले टावर निर्माणको काम गरिरहेको उहाँले बताउनुभयो ।