• २ चैत २०८१, शनिबार

सञ्चारमन्त्री गुरुङद्वारा शोक व्यक्त

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ शनिबार तनहुँको भिमाद नगरपालिका–२ निवासी भिमाद नगरपालिकाका संस्थापक प्रमुख मेखबहादुर थापाका पत्नी भोविमाया थापाको निधनप्रति शोक व्यक्त गर्नुहुँदै । तस्बिरः कृष्ण न्यौपाने/रासस

दमौली, चैत २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्नीशोकमा रहनुभएका भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । 

भिमाद नगरपालिका–२ जिलाङस्थित थापा निवास पुगेर सञ्चारमन्त्रीले भोविमाया थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नगर प्रमुख थापाका शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको हो । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिवसमेत रहनुभएका सञ्चारमन्त्रीले भोविमाया थापाको निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। नेकपा (एमाले) तनहुँकी सङ्गठित सदस्य थापाको ५६ वर्षको उमेरमा गत शनिबार उपचारका क्रममा निधन भएको हो । उहाँ मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्रीका साथ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष हरिराज कँडेल, गण्डकी प्रदेश कमिटीका पूर्व सदस्य विष्णुभक्त सिग्देल लगायत एमाले नेता थापा निवासमा  समवेदना व्यक्त गर्न पुग्नुभएको थियो ।