• २ चैत २०८१, शनिबार

प्रतिक्रिवादीको षड्यन्त्रलाई विफल पार्न समाजवादी मोर्चाको आह्वान

blog

पत्रकार सम्मेलनमा सहभागी मोर्चाका शीर्ष नेता ।

काठमाडौँ, चैत २ गते। समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्रलाई विफल पार्नका लागि भन्दै जनसमुदायसँग एकजुट हुन अपिल गरेको छ। 

शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता खड्गबहादुर विश्वकर्माले मोर्चाले सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्ति एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्रलाई विफल पार्न जनसमुदायसँग अपिल गर्ने निर्णय गरेको बताउनुभएको हो। 

मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठकराव र राज्यसत्ताको बागडोर सम्हालेकाको अलोकतान्त्रिक रबैया र गतिविधिका कारण जनतामा निराशा पैदा भएको आरोप लगाएको छ। 

उहाँले भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको बताउनुभयो। सरकार बिचौलिया दलालको स्वार्थसिद्धिमा केन्द्रित रहेको बताउनुभयो। अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसदमा दर्ता भएका विधेयक नियन्त्रण गरी राख्नेमा उद्धत रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको टकराव र राज्यसत्ताको बागडोर सम्हालेकाको अलोकतान्त्रिक रबैया र गतिविधिका कारण नेपाली जनताका अधिकार एकपछि अर्को कुण्ठित हुँदै गइरहेका छन्। राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ। भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ।’’ 

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवं जनताको हित विपरितका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनःउत्थानवादी तत्त्व लागि परेको जिकिर गर्नुभयो।