• २ चैत २०८१, शनिबार

नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, चैत २ गते । कैलालीमा साथीहरूसँग नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ । 

मोहना नदीमा नुहाउने क्रममा दुई किशोरको ज्यान गएको हो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१९ का १६ वर्षीय आश्रित ओझा र सोही ठाउँका १५ वर्षीय दिनेश ओझा रहेका छन् । आश्रित कक्षा १० र दिनेश कक्षा ९ मा अध्ययनरत विद्यार्थी थिए । 

यसै गरी, डुबेका दुई जनाको सकुशल उद्धार गरिएको छ । १५ वर्षीय आदर्श पुजारा र १६ वर्षीय करनसिंह धामीको उद्धार गरिएको हो । घाइते दुवैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

सो कार्यालयका अनुसार चारै जना शुक्रबार नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा उनीहरू डुबेका थिए । मृतकको शव घटनास्थलभन्दा ३० मिटर पर नदीमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोली, फूलबारीमा रहेको सशस्त्र प्रहरीको टोली र धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले डुबेका किशोरहरूको संयुक्त रूपमा खोजतलास गरेर पानीबाट शव निकालेका थिए ।