• १७ असार २०८१, सोमबार

मोदीको लुम्बिनी भ्रमणको अन्तर्य

blog

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धजयन्तीका दिन लुम्बिनीमा सम्बोधनका क्रममा भन्नुभएको थियो, “नेपाल आउँदा मलाई कुनै राजनीतिक भ्रमणभन्दा पनि छुट्टै आध्यात्मिक अनुभूति हुन्छ । भारत र भारतीय जनताले नेपाललाई यही दृष्टि र आशाले हेरेका छन् ।”

प्रधानमन्त्री मोदी बुद्धजयन्तीको अवसर पारेर गौतम बुद्धको जन्मभूमि लुम्बिनी आउनु संयोग मात्र थिएन संसारमा फैलिँदै गएको अशान्ति र विश्वयुद्धका सम्भावना समाप्त पार्ने उद्देश्य लुकेको छ, थियो । सिद्धार्थ गौतमका चिन्तनमा आधारित बौद्ध दर्शनका पञ्चशील, समाधि र प्रज्ञाका सिद्धान्त प्रभावकारी हुने विश्वास संसारभर बढ्दै गएको छ । यो सम्पूर्ण मानव जातिका लागि सुखद र सन्तोषको कुरा हो । यस्तो वातावरणमा भारतीय प्रधानमन्त्री मोदीकोे लुम्बिनी भ्रमण भयो ।

यो भ्रमणले नेपाल–भारत सम्बन्धमा आएको चिसोपन हटाउने आशा जगाएको छ । यद्यपि मोदीको लुम्बिनी भ्रमण निकै छोटो समयका लागि भए पनि नेपालको अस्थिर र अस्तव्यस्त राजनीतिमा यो भ्रमणको राजनीतिक महìव दूरगामी छ । अहिले समय जटिल छ, वैदेशिक, आर्थिक र सामाजिक हिसाबले । 

पहिलो पटक नेपाल भ्रमण गर्दा सन् २०१४ मा नेपालको संसद्मा आफ्नो सम्बोधनका क्रममा उहाँले चार वटा ‘सी’ को अर्थ खुलाउँदै त्यसमध्ये एक संस्कृति र सभ्यताले नेपाल–भारत सम्बन्ध मजबुत भएको बताउनुभएको थियो । मोदीले जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको यसअघि नै दर्शन गर्नुभएको छ । यसैलाई निरन्तरता दिँदै उहाँ लुम्बिनी आउनुभएको हो । 

लुम्बिनीमा सम्बोधनका क्रममा पनि मोदीले धार्मिक विषयलाई नै बढी जोड दिनुभएको थियो । ‘नमोः बुद्ध’ भनेर आफ्नो सम्बोधन सुरु गर्नुभएका मोदीले नेपाली भाषामा शुभकामनाका क्रममा भन्नुभएको थियो, “आज बुद्धको जन्मस्थल लुम्बिनी आउने अवसर मिल्यो, मायादेवी मन्दिर दर्शनको अवसर मेरा लागि अविश्वसनीय हो ।’ मानवका रूपमा भगवान् बुद्धले जन्म लिएको स्थानमा टेक्न पाएकामा उहाँले हर्ष व्यक्त गर्नुभयो । मोदीबाट लुम्बिनीमा व्यक्त भावनाले दुई देशबीचको चिसोपन हटेको महसुस हुन्छ । 

जनकपुरको भ्रमणका दौरानमा आफूले ‘नेपालबिना राम अधुरो रहेको’ बताएको स्मरण गर्दै मोदीले भारतमा राममन्दिर बनिरहँदा नेपाली पनि खुसी भएको दाबी गर्नुभयो । उहाँले बुद्ध सर्किट र लुम्बिनीको प्रसङ्ग उल्लेख गर्दै दुवै मुलुक मिलेर आपसी सम्बन्धलाई हिमालको जस्तै उचाइ दिनुपर्नेमा जोड दिनुभयो । उहाँले गीत, संस्कृति, रीतिरिवाजका कारण सयौँ वर्षदेखि दुई देशबीच जीवन्त सम्बन्ध रहेको बताए । यसअघि आफू मुक्तिनाथ, पशुपतिनाथ र जनकपुर पुगिसकेको उल्लेख गर्दै यस पटक लुम्बिनी आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल सगरमाथाको देश हो, थुप्रै मठमन्दिर, तीर्थस्थलको देश हो, नेपाल आउँदा मलाई छुट्टै आनन्द आउँछ ।” बुद्धले दुवै मुलुकलाई जोडेको उहाँको भनाइ थियो । दुई मुलुकबीच लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्न सैद्धान्तिक सहमति पनि भएको छ । 

मोदीले नेपालीको मनमा आशाको बीउ रोप्नुभयो । उहाँले जनकपुरको भ्रमण गर्दा पर्यटकको चाप ‘ह्वात्तै’ बढेको थियो । मुस्ताङ जाँदा त्यहाँ पनि पर्यटक ‘ओइरिए’ । लुम्बिनी भ्रमणले संसारभरका बुद्धधर्मावलम्बीलाई लुम्बिनीमा आकर्षित गर्न सक्छ । 

धार्मिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका प्रधानमन्त्री मोदीले नेपालको भ्रमणमा महत्त्व दिएका स्थानहरूको लेखाजोखा गर्दा भारतले पछिल्लो समयमा सांस्कृतिक कूटनीतिलाई बलियो बनाउँदै लगेको देखिन्छ । प्रधानमन्त्रीको पहिलो कार्यकालमा चार पटक नेपाल आउनुभएका मोदी दोस्रो कार्यकालमा पहिलो पटक नेपाल आउनुभएको हो । नेपालका हिन्दु र बौद्ध धर्म सम्बन्धित तीर्थस्थलका भ्रमण गरेर दुई मुलुकको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन महìवपूर्ण भूमिका खेलेको छ मोदी भ्रमणले । 

मोदीको यो भ्रमणले नेपाल–भारत सम्बन्धमा शान्ति र मोक्षको ज्ञान खोजीमा साझा प्रयासलाई प्रेरित गरेको मान्नुपर्छ । भारत र नेपालको साझा पहलबाट बौद्ध सर्किट निर्माणअन्तर्गत लुम्बिनी, बोधगया, कुशीनगर र सारनाथलाई यो भ्रमणले अझ सशक्त रूपमा जोडेको छ । धेरै बुद्धिस्ट पर्यटक भारतमा गएर तीन स्थानमा दर्शन गर्ने तर कमजोर कनेक्टिभिटीका कारण लुम्बिनी नजाने यथार्थलाई अब सहयात्रीका रूपमा हामीले यो सर्किटलाई प्रवद्र्धन गर्न सकियो भने पर्यटकको लुम्बिनीप्रति आकर्षण बढ्नेछ । 

प्रधानमन्त्रीका रूपमा पाँचौँ पटक नेपाल भ्रमणका आउनुभएका मोदीले राजनीतिकसँगै धार्मिक कूटनीतिलाई पनि विस्तार गर्न खोजेको स्पष्ट हुन्छ । मोदीले भारतको परम्परागत कूटनीतिलाई पूर्ण गर्न तीन वटा सांस्कृतिक सम्पदा बौद्ध धर्म, प्रवासी भारतीय र योगलाई सक्रिय रूपमा बढावा दिँदै आउनुभएको छ । यसले भारतको अन्तर्राष्ट्रिय छविलाई सुधार्दै विदेशी लगानी, प्रविधि र पर्यटकलाई आकर्षित गर्ने उद्देश्य लिएको छ । 

दक्षिण एसिया, पूर्वी एसिया र दक्षिणपूर्वी एसियाका धेरै देशले बौद्ध धर्मलाई आफ्नो पहिचानका रूपमा लिन्छन् । मोदीले यस्ता देशप्रतिको आफ्नो नीतिमा बौद्ध धर्मलाई साझा सम्बन्धको आधार बनाउने प्रयास गर्दै आउनुभएको छ । 

बुद्धबिना २१औँ शताब्दी एसियाको शताब्दी हुन नसक्ने दाबी मोदीको छ । त्यसैले यी क्षेत्रबाट भारतमा वा त्यसतर्फ हुने उच्चस्तरीय भ्रमणमा बुद्धको विषय महìवपूर्ण रूपमा उठाउने गर्नुहुन्छ । मोदीले देउवाको साथै भारतीय बुद्धिस्टहरूको संस्था इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने एक अर्ब भारतीय रुपियाँको बौद्ध विहारको शिलान्यास गरेर यो सन्देश प्रवाहित ग-यो कि भारतले हिन्दु धर्मलाई सहयोग गर्नुको साथै बौद्ध धर्मको मन्दिर र विहार निर्माणमा पनि मन खोलेर सहयोग गर्न सक्छ । जबकि मोदीको छवि एउटा कट्टर हिन्दुवादीको छ । नेपालमा अन्य छिमेकीको धार्मिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा बढिरहेको प्रभाव कम गर्न यसले सघाउन पु-याउनेछ । 

मोदीको सम्पन्न भ्रमणमा सांस्कृतिक सहयोगका साथै अन्य परम्परागत सहयोग सम्बन्धित अनेक उल्लेखनीय कार्य भयो । विगतका विभिन्न योजना÷परियोजना कार्यान्वयन दिशामा सकारात्मक छलफल भयो । यसका साथै शैक्षिक तथा प्राविधिक विषयमा सहकार्य गर्ने उद्देश्यले भारतीय विभिन्न शैक्षिक संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर अर्को महत्त्वपूर्ण उपलब्धि मान्न सकिन्छ । 

विश्व नेताका रूपमा आफ्नो छवि बनाउनुभएका भारतीय प्रधानमन्त्री मोदीको बुद्धजयन्तीका अवसर पारेर भएको लुम्बिनी भ्रमणले लुम्बिनीलाई विश्वभरमा चिनाउन योगदान पु-याउनेछ । साथै लुम्बिनीको विश्व पर्यटकीय बजारमा विस्तार तथा प्रवद्र्धनमा टेवा पुग्याउनेछ किनकी आज बुद्धको सत्य, अहिंसा, शान्ति तथा बधुन्त्वजस्ता उपदेशका महत्त्व र आवश्यकताको अनुभव सम्पूर्ण विश्वले गरिरहेको छ । मानव जातिको अस्तित्व जोगाउन यो सुखद हो र नेपालका लागि एउटा महत्त्वपूर्ण उपलब्धि पनि छ । 

Author

वीणा सिन्हा