साबित्री गिरी
कोहलपुर, फागुन २९ गते । ‘सार्वजनिक जीवनमा महिला’ सम्बन्धी फोटो प्रदर्शनी नेपालगन्जमा हुनेभएको छ । फोटो प्रदर्शनीबारे बिहीबार नेपालगन्जका सरोकारवालासँगको छलफल तथा भेटघाट गरिएको छ ।
फोटो सर्कलको आयोजनामा आगामी चैत ४ देखि ६ गतेसम्म स्थानीय रामलिला मैदानमा प्रदर्शनी हुन लागेको हो । उक्त प्रदर्शनीको निःशुल्क अवलोकन गर्न सकिने आयोजकको भनाइ छ । फोटो सर्कलका को–फाउन्डर नयनतारा गुरुङले प्रदर्शनीलाई सफल बनाउन स्थानीय सरोकारवालाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सांसद मीना श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका द्वारिका अधिकारी, फातिमा फाउन्डेसनका अध्यक्ष मैमुना सिद्दिकी, सामाजिक अगुवा, महिला अगुवा, पत्रकार तथा सञ्चारकर्मीलगायतको सहभागिता थियो ।
दोस्रो चरणको प्रदर्शनीका लागि नेपालगन्जमा कालपृष्ठ दैनिक, नारी विकास केन्द्रीय कार्यालय, फातिमा फाउन्डेसन नेपाल, क्रियाशील पत्रकार महिला बाँके, वोश्वरी असल शासन क्लब, नेपालगन्ज ग्यालरी, चलचित्र पत्रकार सङ्घ, नेपाल बाँके र मेरो खुसी डट कमसँग साझेदारी गरिएको छ ।
बिहान १० बजेदेखि बेलुका ५ बजेम्म चैत ४ गतेदेखि तीन दिनसम्म गर्न लागिएको प्रदर्शनी अवलोकनले ग्रामीण र सहरी क्षेत्रमा महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य बनाउने नेपाल पिक्चर लाइब्रेरीले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । यो परियोजना २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्ताबेज र अभिलेख सिर्जनाको पहलबाट सुरु भएको हो ।