लीलाराज खड्का
बिर्तामोड, फागुन २९ गते । झापाको जलथलको जङ्गलमा सडेगलेको अवस्थामा जङ्गली हात्ती फेला परेको छ । बुधबार साँझ कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा फेला परेको हो ।
जङ्गलमा मृत हात्तीलाई अन्य ३–४ वटा जङ्गली हात्तीले वरिपरि घेरेर राखेपछि बुधबार साँझ कोही पनि नजिक जान सकेका थिएनन् ।
बिहीबार डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय बनियानी लगायतको टोली घटनास्थल पुगेको थियो । त्यहाँ पुगेर हेर्दा हात्तीको शरीरको अधिकांश भाग कुहिसकेको अवस्थामा मृत हात्ती फेला परेको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताउनुभयो ।
हात्तीको दाराको टुप्पो काटिएको छ । त्यस हात्तीलाई गाडेर अन्त्येष्टि गरिएको कचनकवल ७ का वडा सदस्य शेरबहादुर थेबेले बताउनुभयो । झापामा चालु आर्थिक वर्षमा हात्ती मरेको यो पहिलो घटना हो ।
गत आर्थिक वर्षमा ४ वटा हात्ती मृत फेला परेका थिए । यस आर्थिक वर्षमा हात्तीको आक्रमण परी झापामा चार जनाको ज्यान गइसकेको छ ।