बिजलपुरा समाचारदाता
बिजलपुरा (महोत्तरी), फागुन २९ गते । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले मधेश गौरवका योजनाको कार्यान्वयन तीव्र गतिमा अगाडि बढाएको बताउनुभएको छ । आफ्नो मन्त्रालयले अर्बौंका सडक, पुल र आवासका योजनाको काम युद्धस्तरमा अगाडि बढाएको बताउनुभएको हो ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–९, खोपीमा सडकको शिलान्यास गर्दै मन्त्री यादवले गौरवका योजनाले मधेश प्रदेशका जनतामा प्रदेश सरकारप्रति आशा, विश्वास र भरोसा बढेको बताउनुभयो । उहाँका अनुसार मधेश प्रदेशका ६४ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा पाँच/पाँच किलोमिटर गरी कुल ३२० किलोमिटर कालोपत्रे सडक निर्माणका लागि ठेक्काको काम सम्पन्न भएको छ । निर्माण कम्पनीसँग काम अगाडि बढाउन सम्झौता भइरहेको छ । ३२० किलोमिटर सडक निर्माणका लागि कुल साढे १३ अर्ब बजेट विनियोजन गरिएको छ ।
पालिका पालिका जोड्ने सडक योजना अन्तर्गत कुल साढे ३६ किलोमिटर सडक निर्माणका लागि पनि काम अगाडि बढाइएको मन्त्री यादवले बताउनुभयो । प्रादेशिक सडक गुरुयोजना अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले १० वटा सडक निर्माण गर्ने तयारी गरेकोमा चालु आर्थिक वर्ष २०८१/८२ मा महोत्तरी र धनुषाको दुई वटा सडकखण्डको ठेक्का बन्दोबस्ती गरिएको मन्त्री यादवको भनाइ छ ।
मन्त्री यादवले भन्नुभयो, “प्रादेशिक सडक योजना अन्तर्गत पहिलो चरणमा महोत्तरीको रघुनाथपुर–सुरन्दरपुर–सोनमा सडकखण्डको साढे आठ किलोमिटर सडकलाई कालोपत्रे गर्न लागेका छौँ । अर्को धनुषाको जनकपुर–खरियानी सडकखण्डको २८ किलोमिटर सडक पनि कालोपत्रे गर्न ठेक्का लगाइएको छ । धनुषा र महोत्तरीको दुई वटा सडकखण्ड निर्माण गर्न विश्व बैँककाे एक अर्ब आर्थिक सहयोग प्राप्त भएको छ ।” मन्त्री यादवका अनुसार विकास योजना अनुसार सप्तरीको चार वटा महत्त्वपूर्ण सडकखण्डको ४५ किलोमिटर अलग–अलग बाटो कालोपत्रे गर्न एक अर्ब १० करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो । यो योजनाको काम पनि अगाडि बढाइएको मन्त्री यादवको भनाइ छ ।
महोत्तरीका १० वटा सडकखण्डको ४० किलोमिटर बाटो कालोपत्रे गर्न अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितताका लागि फाइल पठाएको उहाँले बताउनुभयो । दुई महिनादेखि फाइल अर्थ मन्त्रालयमै अड्केको उहाँले गुनासो गर्नुभयो । उहाँका अनुसार प्रदेश सभाको ६४ वटै निर्वाचन क्षेत्रमा एक/एक वटा पुल निर्माणका लागि पनि डिपिआर निर्माणको काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा पुल निर्माणका लागि कम्तीमा दस करोड खर्च लाग्छ ।”
प्रत्येक जिल्लामा एउटा सभा हल निर्माण गर्ने नीति अनुसार महोत्तरीको सम्सी र सप्तरीमा पनि काम अगाडि बढाइएको मन्त्री यादवले बताउनुभयो । मन्त्री यादवका अनुसार विपन्नसँग मदन भण्डारी आवास योजना अन्तर्गत पहिलो चरणमा १२० वटा घर निर्माण भइरहेको छ ।