• २९ फागुन २०८१, बिहिबार

होली मिलनको तयारी

blog

बुटवल समाचारदाता

बुटवल, फागुन २९ गते । रुपन्देहीका थारू समुदायले हरेक वर्ष जस्तै यो वर्ष पनि होलीलाई उल्लासमय बनाउन होली मिलनको तयारी सुरु गरेका छन् । खास गरी रुपन्देहीको सैनामैना नगरपालिकाका थारू समुदायले बर्सौंदेखि होली मिलन कार्यक्रम गरी होली संस्कृति संरक्षण गर्ने अभियान गर्दै आएका छन् ।

होली खेल्ने परम्परा बिस्तारै लोप हुँदै गएको भन्दै थारू समुदायले पछिल्लो केही वर्षदेखि अभियानकै रूपमा थारूबहुल बस्तीहरूमा होली खेल्ने गरेका छन् । थारू समुदायका अगुवाहरूले सैनामैनाको बिचौवापुरमा होली मिलनको तयारीसम्बन्धी छलफल गरेका छन् ।   थारू कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलबहादुर थारूले लोप हुँदै गएको फागु गीत र संस्कृति संरक्षण गर्न आफूहरूले अभियानकै रूपमा तीन दिनसम्म थारूबहुल गाउँहरूमा यो वर्ष पनि होली खेल्ने तयारी सुरु गरेको बताउनुभयो । थारू अभियन्ता साहित्यकार केवलप्रसाद थारूले रुपन्देहीको सैनामैनामा यही फागुन २९ एवं चैत १ र २ गते तीन दिन होली खेलेर थारू मिलन तथा होली परम्परा र संस्कृति संरक्षण गर्न लागिएको बताउनुभयो । 

तराईमा होली खास गरी एकै दिन खेलिन्छ तर लोप हुँदै गएको फागु गीत र फागु संस्कृति संरक्षण गर्ने उद्देश्यले थारू समुदायले यो वर्ष तीन दिन होली खेल्ने भएका हुन् । थारू कल्याणकारी सभा सैनामैनाको आयोजनामा हुने होली मिलन तथा संस्कृति संरक्षण अभियानमा सहभागी हुन थारू समुदायले सबैसँग आग्रहसमेत गरेको छ । थारू कल्याणकारी सभा रुपन्देहीका पूर्वअध्यक्ष रामबली चौधरीले थारू समुदायले फागुको अवसरमा गाउने ‘जोगिरा सररर’ गीत लोप हुँदै गएको बताउनुभयो । उहाँले थारू भाषामा फागुका धेरै गीत भए पनि ती सबै लोप हुँदै गएकाले आफूहरूले पुरानो संस्कृति संरक्षण गर्ने अभियानकै रूपमा यो वर्ष पनि होली खेल्न लागेको बताउनुभयो । 

थारू भाषाका कवि बमबहादुर थारूले थारू समुदायका गाउँहरूमा फागु गीत गाएर पुरानो संस्कृति संरक्षण गर्ने र नयाँ पुस्तालाई फागु गीतप्रति अभिरुचि जगाउन आयोजना गरिने यसप्रकारका कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार थारू समुदायका फागु गीत तराईका थारू गाउँघरबाटै लोप हुँदै गएको छ ।