नेपालगन्ज समाचारदाता
नेपालगन्ज, फागुन २९ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिहरूका लागि नेपालगन्जमा एक सय दिनको न्यूनतम रोजगारी कार्यक्रम सञ्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा सूचीकृत बेरोजगारलक्षित एक सय दिनको न्यूनतम रोजगारी कार्यक्रम सञ्चालन गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रका संयोजक मन्जु ज्ञवालीका अनुसार सो कार्यक्रम अन्तर्गत हाल नेपालगन्जको वडा नम्बर १९, २०, २१ र २३ मा ५६ महिला र १२ पुरुष गरी कुल ६८ जना श्रमिक विभिन्न योजनामा संलग्न रहेका छन् ।
सो कार्यक्रमले बेरोजगार श्रमिकलाई निश्चित अवधिको रोजगारी उपलब्ध गराउनुका साथै उनीहरूलाई सिपमूलक तालिमद्वारा दक्ष बनाउने लक्ष्य राखेको रोजगार संयोजक ज्ञवालीले बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनाको सहकार्यमा सो कार्यक्रम सञ्चालन गरेर बेरोजगारलाई रोजगारीका अवसर सिर्जना गरिएको उहाँले बताउनुभयो ।
सो कार्यक्रम अन्तर्गत विभिन्न पूर्वाधार निर्माण तथा सुधारका कार्य सञ्चालन भइरहेका छन्, जसमा खानेपानी पाइप विस्तार, पर्यटकीय क्षेत्र व्यवस्थापन, विद्यालय सुधार, बाटो निर्माण तथा मर्मत, कुलो निर्माणलगायतका योजना समावेश गरिएको छ ।