अविनाश चौधरी
धनगढी, फागुन २८ गते । सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षी दलको विरोध जारी रहेको छ । प्रदेश सरकारसँग सम्बन्धित विभिन्न विषय अगाडि सारेर केही दिनदेखि प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्रले प्रदेश सभामा विरोध जनाउँदै आएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा पनि प्रतिपक्षीले विरोध जनाएपछि बैठक स्थगित गरिएको छ । प्रतिपक्षी दलको संसदीय दलका नेतासहितले उठेर विरोध जनाएकाले बैठक स्थगित गरेको सभामुख भीमबहादुर भण्डारीले बताउनुभयो । उहाँले प्रतिपक्षीलाई आ–आफ्नो सिटमा बसी दिन आग्रह गर्नुभएको थियो । भण्डारीले आजको बैठकको कार्यसूचीमा रहेको विषय पनि हटाउनुभएको छ । अर्को बैठक आजै बोलाइएको छ ।