• २८ फागुन २०८१, बुधबार

कार्यालय स्थापनापछि भूकम्पपीडित आशावादी

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, फागुन २८ गते । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित भूकम्पबाट क्षति भएका आफ्ना संरचनाको पुनर्निर्माण र पुनस्र्थापना हुनेमा आशावादी देखिएका छन् । 

भेरी नगरपालिका–१ स्थित रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालय स्थापना भएपछि उनीहरू आशावादी देखिएका हुन् । गत आइतवार गृहमन्त्री रमेश लेखकले कार्यालयको उद्घाटन गरेपछि पीडितहरू त्यसरी आशावादी देखिएका हुन् ।  

पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यालय स्थापना भएपछि अब पुनस्र्थापना हुन्छ कि साहुबाट कर्जा लिएर घर बनाउन थालेका भूकम्प प्रभावितमा आशा जागेको छ । २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले धनजनको क्षति गरेको १६ महिनापछि सरकारले विस्तृत क्षतिको आकलन (डिडिए) को कामसँगै कार्यालय स्थापना गरेको छ । 

भेरी नगरपालिका–१ का सुरेन्द्र रानाका अनुसार हिउँदको चिसो, बर्खामा बाढीपहिरो, चैत, वैशाखको गर्मी छिचोल्दै पुनर्निर्माणको पर्खाइमा बस्नु परेको छ । कार्यालय स्थापना भएपछि अब पीडितको घाउमा मलम लाग्नेमा आशावादी भएको उहाँले बताउनुभयो । 

सरकारले पुनर्निर्माण कार्यविधि मापदण्ड, ऐन संशोधन गरी विस्तृत क्षतिको आकलन (डिडिए) को काम अघि बढिसकेकाले अब ढिलासुस्ती नहुने गृहमन्त्री लेखकले प्रतिबद्धता गरेपछि जाजरकोट र रुकुमपश्चिमका जनता खुसी भएका छन् । गाउँ तथा नगरपालिकाले विस्तृत क्षतिको आकलन (डिडिए) को काम सम्पन्न हुने र सोही स्थानीय तहबाट पुनर्निर्माणको काम अघि बढाइने छ । लामो समय थन्किएको कामले निराश भएका पीडितहरू अब पुनर्निर्माणसम्बन्धी कामले गति लिने बताउनुभयो । 

भेरी नगरपालिका–४ का कैलाशसिंह खत्रीले भूकम्पले चर्किएर घरमा बस्न नमिल्ने भएपछि अस्थायी आवासको बसाइले सुगर, प्रेसरको बिरामी शरीरलाई ओत लगाउन साहुबाट कर्जा लिएर घर बनाउन थालेको बताउनुभयो । सरकारले विस्तृत क्षतिको आकलन गर्न घर घरमा प्राविधिक टोली खटाएपछि पुनर्निर्माणका लागि घोषण गरेको बजेट पाउनेमा आफू आशावादी रहेको बताउनुभयो ।