काठमाडौँ, फागुन २६ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा परेको बताउनुभएको छ ।
सोमबार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जानुपर्दा युवामा विकृतिसमेत आएको बताउनुभयो । उहाँले आगामी दस वर्षभित्र मुलुकमै रोजगारीको सुनिश्चित गर्न उद्यमशीलता र उत्पादकत्व वृद्धि गरी श्रम बजारको व्यवस्थापनको सुरुवात भएको जानकारी दिनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले भन्नुभयो, ‘‘वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित गर्दै अगाडि जाने र आगामी दस वर्षमा के गर्ने त ? आगामी दस वर्षमा मुलुकको उद्यमशीलताका आधारमा उत्पादकत्वलाई वृद्धि गर्दै मुलुकमा रोजगारीको अवस्था सिर्जना गर्दै श्रमिकलाई पनि न्यायोचित हिसाबले उसको श्रम शक्तिको मूल्याङ्कन हुने त्यसको बेराेजगारहरूलाई अगाडि बढाएर र मर्यादित र सुरक्षित तवरले फर्काएर ल्याएर मुलुकलाई अगाडि बढाउन यसलाई पुनःस्थापना गर्ने लक्ष्य सहितको यात्रा आजबाट शुरुवात गरेका छौँ ।’’
नेपाली युवामा देखिएका अधिकांश निराशा रोजगारसँग सम्बन्धित रहेको भन्दै उहाँले सरकारले रोजगारीको सिर्जना र श्रम शक्तिको उचित मूल्याङ्कन गरी निराशा चिर्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘अहिलेको अवस्थामा मुलुकमा छाएको एक खालको जुन निराशा छ, यो विशेष गरेर रोजगारसँग जोडिएको छ । मुलुकमा हरेक वर्ष असाध्यै शक्तिशाली श्रमशक्ति मुलुकको श्रम बजारमा आउँदैछ । तर त्यो श्रम बजारको व्यवस्थापन हामीले गर्न सकिरहेका छैनौँ । जसका कारणले हामी बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारको चपेटामा परेका छौँ । जसले विभिन्न किसिमका विकृतिहरू पनि जन्माएको छ । अब त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि कि नोट स्पिचमा आएको छ ।’’
मन्त्री भण्डारीले नेपालको श्रम रोजगार तथा आर्थिक गतिविधिको क्षेत्रमा नयाँ कोशेढुङ्गाको सुरुवात भएको बताउनुभयो । विदेशमा सिकेका सीप र संस्कारलाई नेपालमा भित्र्याएर उत्पाकत्व वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ ।