• २६ फागुन २०८१, सोमबार

अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्ने लिबरल नेता कार्नीको प्रतिबद्धता

blog

क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नी

ओटावा, फागुन २६ गते । क्यानाडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

लिबरल पार्टीले प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका लागि कार्नीलाई भारी मतले निर्वाचित गरेपछि तत्काल पतिक्रिया दिँदै ‘क्यानडेली जीवनशैली’को पक्षमा पतिक्रिया दिनुभएको हो ।

“हामीले यो लडाईंका लागि आग्रह गरेका थिएनौँ । तर जब अरू कसैले हात हाल्छ क्यानडेलीहरू जहिले पनि प्रतिकारका लागि तयार हुन्छन्,” कार्नीले ओटावामा पार्टी समर्थकहरूको ठुलो भीडलाई भन्नुभयो ।

“त्यसैले अमेरिकीहरूले कुनै गल्ती नगरून् । हकीमा जस्तै व्यापारमा युद्धमा पनि क्यानाडाले जित्नेछ,” आगामी दिनमा ट्रुडोको स्थानमा कार्यभार सम्हाल्ने ५९ वर्षीय कार्नीले हालै अमेरिकाविरूद्धको खेलमा क्यानाडाको विजयलाई उल्लेख गर्दै भन्नुभयो । 

‘अस्तित्वगत चुनौती’

आफ्नो विजय भाषणमा कार्नीले ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाले क्यानाडालाई नियन्त्रण गर्न खोजिरहेको चेतावनी दिनुभएको थियो ।

“अमेरिकीहरू हाम्रो स्रोत, हाम्रो पानी, हाम्रो भूमि र हाम्रो देश चाहन्छन्”, उहाँले भन्नुभयो, “यो हामीले विश्वास गर्न नसक्ने तर देशले सामना गरिरहेको अँध्यारो दिन हो ।”

ट्रम्पले क्यानाडाका कामदार, परिवार र व्यवसायमाथि आक्रमण गरेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “हामी यस क्यानाडाविरूद्धको आक्रमणमा उहाँलाई सफल हुन दिन सक्दैनौँ ।”

“हामी सबै एकअर्काको पक्षमा र क्यानाडाको जीवनशैलीका लागि उभिनुपर्छ ,” उहाँले भन्नुभयो । रासस/एएफपी