• २६ फागुन २०८१, सोमबार

जङ्गली जनावरको आतङ्क रोक्न सांसद सिंहको माग

blog

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका शेखरकुमार सिंह आइतबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन २५ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका शेखरकुमार सिंहले सप्तरीका पूर्वी भेगका खेती बाली संरक्षणका लागि हाई प्वाइन्ट निर्माण सरकारसँग माग गर्नुभयो । आइतबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।

उहाँले किसानले जङ्गली जनावर र घरपालुवा पशुबाट समेत आतङ्कित हुनुपरेको बताउनुभयो । उहाँले जङ्गली जनावरको आतङ्कका कारण किसानले खेतीबाली सुरक्षाका लागि निगरानी गर्ने अवस्थासमेत नरहेको जिकिर गर्नुभयो ।
सप्तरी जिल्लाका पूर्वी क्षेत्रका किसानले हरेक वर्ष जनावरको आतङ्क व्यहोर्दै आएको उहाँको भनाइ छ ।

सांसद सिंहले भन्नुभयो, ‘‘सप्तरीका पूर्वी भेगका किसान, वन्यजन्तु आरक्षणको नामा लोकल गाई भैँसीबाट पनि आतङ्कित हुनुपर्ने अवस्था छ । त्यहाँको उखुर र गहुँबाली हरेक रात १५–२० बिघा नाश भइरहेको छ । किसानले आफ्नो खेतसम्म गएर गोठोलो बस्न पनि पाइँदैन किनकि त्यहाँ जङ्गली जनावरको पनि आतङ्क हुन्छ त्यस कोशी क्षेत्रमा, यो समस्या हरेक वर्ष खेप्तै आएको छ । वन मन्त्रालयमा हाइ प्वाइन्ट निर्माण गरे किसानले बाली सुरक्षा गर्न सक्थे र जनावर पनि सुरक्षित हुन्थ्यो ।’’

राष्ट्रियसभा सदस्य सिंहले गजेन्द्रनारायण सिंह अस्पतालमा विकास समितिबाट असुल भएको ठुलो रकमबारे खर्च विवरणका लागि विशेषज्ञको टोली खटाउन सरकारसँग माग गर्नुभयो । अस्पतालका लागि विनियोजित नियमित बजेट खर्च नहुने गरेको उहाँको भनाइ छ ।