• ७ वैशाख २०८२, आइतबार

मिहिनेतनै नगरी कुरा मात्रै गरेर प्रगतिको चाहना पूरा गर्न सकिँदैन : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह श्री सिद्धेश्वर माध्यमिक विद्यालयको ७७औं वार्षिकोत्सव समारोहमा सहभागी हुनुहुँदै । तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय

भोजपुर, फागुन २५ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले मिहिनेतनै नगरी कुरा मात्रै गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न नसकिने बताउनुभएको छ ।

श्री सिद्धेश्वर माध्यमिक विद्यालयको ७७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रगतिको जनचाहना पूरा गर्न मिहिनेत गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले २००७ मा प्रजातन्त्र स्थापनापछि दूरदराजका गाउँमा शिक्षको ज्योती पुगेको र छोराछोरीलाई पढाउनुपर्छ भन्ने जागरण आएको पनि बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले सफलता प्राप्त गर्नका लागि मेहनत र लगनशिलता अपरिहार्य रहेकोमा पनि जोड दिनुभयो । देशले समृद्धि र विकास हासिल गर्नका लागि होस् वा विद्यार्थीले आफ्नो लक्ष्य प्राप्त गर्न मिहिनेत नगरी सम्भव नहुने सिंहको भनाइ छ ।


‘‘हामीसँग भएको चीजको महत्त्व नबुझ्ने, अरु ठाउँमा अरु देशमा भएको कुरामा मात्रै आकर्षित हुने प्रवृत्ति बढेको छ । जे हामीसँग छ , त्यसैलाई सुधार गरेर हामी अगाडि बढ्नुपर्छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुुभयो, ‘‘मिहिनेत गरेको खण्डमा त हामीले केही प्रगति गर्न सकौँला । मिहिनेतनै नगरिकन, कुरा मात्र गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न सकिँदैन ।’’

अहिले अवसर पाएर पढिरहेका विद्यार्थीले समाजका लागि के गर्न सक्छौं भन्ने सोच्न पनि उहाँले आग्रह गर्नुभयो । पाठ्यक्रमको शिक्षाले आधार बनाउने भन्दै उपप्रधानमन्त्री सिंहले प्रगतिका लागि भने आफ्नो रुचीको क्षेत्रमा लगनशिलताका साथ मिहिनेत गरे सफलता प्राप्त हुने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले २००५ सालमै स्थापना भएको सिद्धेश्वर माध्यमिक विद्यालयले उत्पादन गरेका विद्यार्थीले समाजका विविध क्षेत्रमा योगदान गरिररहेको भन्दै विद्यालयको पूर्वाधार विकासमा आपूmले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विद्यालयको प्रगतिको कामना गर्नुभयो ।


फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले अहिलेको सरकारले देशको समग्र विकासक्रम विधिसम्मत र व्यवहारिक रूपमा अघि बढाइरहेको बताउनुभयो । यो सरकार राजनीतिक स्थिरताको जगमा विकास निर्माणका कार्यहरू गर्नका बनेको पनि प्रष्ट पार्नुभयो ।

‘‘आउने बजेटमा भएको स्रोत साधन परिणाममुखी हुने गरी, नागरिकले महसुस गर्ने गरी विकास निर्माणको काम गर्नेगरी सरकार अघि बढिरहेको छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘अधिकार प्राप्त भएको छ । अधिकारसँगै हाम्रो जिम्मेवारी के हो भन्ने कुरामा विशेष ध्यान दिँदा समाजमा परिवर्तन ल्याउन त्यसले धेरै मद्दत पुर्‍याउँछ भन्ने मलाई लागेको छ ।’’  

सिद्धेश्वर माध्यमिक विद्यालयले आइतबार स्थापनाको ७७औं वार्षिेकोत्सव मनाएको हो । कार्यक्रममा सिंहसँगै नेपाली कांग्रेसका कोषाध्यक्ष, प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।