अविनाश चौधरी
धनगढी, फागुन २५ गते । कैलालीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–१४ स्याउले र चुरे गाउँपालिका–५ निङ्लाडीमा भएको दुर्घटनामा दुई पुरुषको ज्यान गएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार स्याउलेमा से २ प ३५९० र र सुपप्र ०१–००१ प १४१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा कैलारी गाउँपालिका–६ बस्ने ४० वर्षीय रुपलाल चौधरीको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।
सो दुर्घटनामा परी घाइते भएका सुपप्र ०१–००१ प १४१९ नम्बरको मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–७ पटेलाका ३४ वर्षीय पञ्चराम चौधरी र मोटरसाइकलमा सवार उहाँकी श्रीमती ३० वर्षीया हसिनाको नोभा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएको स्थानमा से २ प ७७४९ नम्बरको मोटरसाइकलसमेत पल्टिएको अवस्थामा फेला परेकाले मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–६ जालीका ४० वर्षीय तेजराज भण्डारीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी, डोटीको दिपायलबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१–००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रित भई चुरे गाउँपालिका–५ निङ्लाडीमा भीमदत्त राजमार्गबाट अन्दाजी १५ मिटर तल खस्दा जिप चालक डोटीको सायल गाउँपालिका–४ भाङयारे बस्ने २२ वर्षीय शङ्कर बोगटीको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उपचारको क्रममा ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी दिपायल सिलगढी नगरपालिका–१ का २१ वर्षीय हिमाल खड्का, सोही ठाउँका २१ वर्षीय सुरेश खड्का र सायल–६ का १६ वर्षीया कविता साउद घाइते हुनुभएको छ । घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।