• २५ फागुन २०८१, आइतबार

स्वास्थ्य केन्द्रमा उपकरणको अभाव : स्वास्थ्य सेवा प्रभावित

blog

ठुली पोखरी स्वास्थ्य केन्द्रको भवन ।

प्रनिश गिरी

पर्वत, फागुन २५ गते । कुस्मा नगरपालिकाको ठुलीपोखरीस्थित स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्य उपकरण बिग्रेपछि स्थानीयले स्वास्थ्य परीक्षण सेवा पाउन सकेका छैनन् । स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न भनी २४ वर्षपहिले कुस्मा–१२ मा स्थापना भएको स्वास्थ्य केन्द्रमा पर्याप्त स्वास्थ्य उपकरण छैनन् । स्वास्थ्य केन्द्रमा बर्सौंपहिले खरिद गरिएका एक्सरे मेसिन, प्राथमिक स्वास्थ्य परीक्षण गर्ने ल्याबका सामग्रीसमेत काम नलाग्ने अवस्थामा रहेको कर्मचारीले बताएका छन् । नगरपालिकाले समयमा औषधी खरिद गर्न नसकेपछि स्वास्थ्य केन्द्रबाट सर्वसाधारणले पाउनुपर्ने निःशुल्क औषधी पाउन छाडेकोसमेत महिनौँ भइसकेको छ । 

जिल्लाको प्रदेश अस्पतालबाट सरुवा भई आएका स्वास्थ्य केन्द्रका प्रमुख डा. कृष्ण सुवेदीले स्वास्थ्य सामग्रीको अभावले सर्वसाधारणलाई राम्रोसँग स्वास्थ्य सेवा दिन नसकिएको बताउँदै भन्नुभयो, “एक्सरे मेसिन पुरानो भई बर्सौंदेखि काम नगर्ने अवस्थामा छ । आधुनिक एक्सरे मेसिन छैन । सामान्य हाडजोर्नी र गर्भवती महिलाको स्वास्थ्य जाँचको समस्या लिएर आउने बिरामीलाई पनि जिल्लाको अस्पतालमा रेफर गर्नु पर्छ । रक्त परीक्षणका लागि लागि कुल्टर मेसिनको पनि उत्तिकै खाँचो छ ।”  

डा. सुवेदीले सर्वधारणलाई राम्रो र विश्वसनीय स्वास्थ्य सेवा दिनका लागि फार्मेसी, स्वास्थ्य सेवाका बजेट, बर्थिङ सेन्टरका लागि दक्ष स्टाफ नर्सको खाँचो रहेको बताउनुभयो ।

गाउँको स्वास्थ्य केन्द्रमा एक चिकित्सकसहित नौ जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि दरबन्दी अनुसारका कर्मचारी कहिले पनि पूरा हुन सकेको छैन । तीन वर्षदेखि सिनियर स्टाफ नर्स र अहेवको दुई वटा दरबन्दीमा कर्मचारी छैनन् । बाँकी कर्मचारी पनि काजमा कार्यरत छन् । अझ स्वास्थ्य केन्द्रमा चिकित्सक लामो समय टिक्ने गरेको पाइँदैन । लामो समयसम्म चिकित्सक नहुँदा स्वास्थ्य चौकीमा पटक पटक गरी निमित्त प्रमुखको जिम्मेवारी लिँदै आएकी अनमी भीमकुमारी शर्मा भन्नुहुन्छ, “डाक्टर छैनन् भनेपछि सर्वसाधारणमा स्वास्थ्य संस्थाप्रति विश्वास कम हुने रहेछ । अहिले डाक्टर भएको अवस्था छ तर चाहिने स्वास्थ्य उपकरण बिग्रँदा समस्या छ ।” 

विगतमा दैनिक जसो ४० देखि ५० जनासम्मले स्वास्थ्य सेवा लिँदै आएकामा अचेल डाक्टर नहुँदा त्यो सङ्ख्या घटेर १५ देखि २० जनामा झरेको छ । स्वास्थ्य केन्द्रकी अनमी पूर्णिमा पराजुलीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ स्वास्थ्य सेवा लिने सर्वसाधारणको सङ्ख्या छ हजार १२७ रहेकामा यस वर्ष हालसम्म तीन हजार ९५६ जना रहेको छ । स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर रहेको भए पनि तालिम प्राप्त दक्ष स्टाफ नर्स नहुँदा र गर्भवती परीक्षण सेवाका लागि गाउँका महिला सदरमुकाम र पोखरातिर धाउनुपर्ने बाध्यता छ । ठुलीपोखरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा लिनका लागि थापाठाना, आर्थर, कार्कीनेटा, शङ्करपोखरी, स्याङ्जाको अर्जुनचौपारीदेखि बिरामी आउने गर्दछन् ।