नेपालको आदिवासी जनजाति आयोग र मित्रराष्ट्र चीनको जातीय मामिलासम्बन्धी आयोग (नेसनल इथनिक अफेयर कमिसन) का बिच आपसी सहयोग आदानप्रदानसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनको जातीय मामिलासम्बन्धी आयोगका मन्त्री प्यान युको नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेपाल भ्रमणको सिलसिलामा २५ फेब्रुअरी २०२५ का दिन यो समझदारी भएको हो । यस समझदारीले दुवै देशका आयोगमार्फत आआफ्नो मुलुकका जातीय समुदायमा जीवन्त रहेका कला, संस्कृति र रैथाने ज्ञानको आदान प्रदान तथा यस्ता विशिष्टताको संरक्षण, संवर्धन गरी सांस्कृतिक पर्यटनको क्षेत्रमा सहकार्य गर्न मार्ग प्रशस्त गरेको छ । यस समझदारीबाट नेपालका जनजाति समुदायका परम्परागत ज्ञान, कला, संस्कृति तथा रीतिरिवाजलाई समयानुकूल परिस्कृत तुल्याउँदै चीनका सांस्कृतिक समुदायसम्म प्रसार गर्न सकिने सम्भावनाको ढोका खुलेको छ ।
नेपाली कला र संस्कृति संसारमा अनुपम मानिन्छन् । यो ख्याति नेपाली समाजमा सयौँ वर्षदेखि रहिआएको कलाप्रेम र सांस्कृतिक सचेतनाको परिणाम हो । पुर्खाहरूको कठिन मेहनतको परिणामस्वरूप प्राप्त भएका कतिपय महìवपूर्ण सांस्कृतिक नीधिको जगेर्ना, विकास र पुस्तान्तरणको कार्य समुचित ढङ्गबाट अघि बढ्न नसकेको कारण कैयौँ अद्वितीय संस्कृति लोप भइसकेका छन भने कतिपय मूर्त र अमूर्त सांस्कृतिक सम्पदा सङ्कटापन्न अवस्थामा छन् । राष्ट्रिय पहिचानलाई गरिमायुक्त तुल्याउने यस्ता सांस्कृतिक सम्पदाको संरक्षण र विकासमा सबै सरोकारवालाको ध्यान जानु आवश्यक छ । सांस्कृतिक पर्यटनको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य प्राप्त गर्नसमेत सांस्कृतिक उन्नयनमा विशेष जोड दिनु पर्छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले संसारभरका विभिन्न समुदायले स्थान विशेषको विशिष्टता अनुरूप विकास र संरक्षण गर्दै आएका सांस्कृतिक र प्राकृतिक धरोहरलाई विश्व सम्पदाको रूपमा सूचीकृत गरी संरक्षण र प्रवर्धनको प्रयासमा टेवा पु¥याउने गरेको छ । सूचीकृत गरिने सांस्कृतिक सम्पदा मूर्त वा अमूर्तसमेत हुन सक्छन् । संसारभरका १९६ राष्ट्रबाट अनुमोदन भएको विश्वसम्पदा महासन्धि १९७२ अनुरूप युनेस्कोमा हालसम्म १६८ राष्ट्रका १२२३ मूर्त सम्पदा विश्व सम्पदाको रूपमा सूचीकृत भएका छन् । यसमध्ये ९५२ सांस्कृतिक सम्पदा, २३१ प्राकृतिक सम्पदा र ४० सम्पदा मिश्रित रहेका छन् । नेपालका केही मूर्त सम्पदा (सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी, स्वयम्भू, बौद्धनाथ, पशुपतिनाथ, चाँगुनारायण, हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार
क्षेत्र ) विश्व सम्पदा सूचीमा सूचीकृत भए पनि यहाँको कुनै अमूर्त सांस्कृतिक सम्पदा सूचीकृत हुन सकेको छैन । हालसम्म संसारभरका ७९१ विभिन्न अमूर्त सांस्कृतिक सम्पदा अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकृत भइसकेका छन् । नेपालमा लामो समयदेखि प्रचलनमा रहेका इन्द्रजात्रा, मछिन्द्रनाथको रथयात्रा, बिस्केटजात्रा वा यस्तै अन्य जात्रा तथा विभिन्न समुदायका विविध सङ्गीत, नृत्य, अभिनयकला तथा अन्य सांस्कृतिक परम्परा वा रीतिरिवाज अभौतिक सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गर्न सकिने सम्भावना रहेकाले यसतर्फ सरोकारवालाको ध्यान जानु आवश्यक छ ।
कला र संस्कृति मानव समुदायको विशिष्टता हो । भिन्न मानव समुदायलाई एक अर्कामा पृथक् महत्ताबोध गराउने जीवन्त आधार समुदायले अवलम्बन गरेको संस्कृति हो । सांस्कृतिक अभ्यासले मानिसलाई समुदायगत एकता र सन्तुष्टिको भाव वृद्धि गराउँछ । मानव समुदायको सर्वतोमुखि विकास उसको सांस्कृतिक परिवेशको सापेक्षता अनुरूप मात्र सम्भव हुन्छ । सांस्कृतिक समृद्धिबाट व्यक्ति र समाजको समुन्नतिको आधार खडा हुन्छ । समाजको विकास, रूपान्तरण वा समृद्धिको निमित्त सर्वप्रथम सांस्कृतिक उत्थान वा जागरण र आफ्नो संस्कृतिप्रति गौरवानुभूति आवश्यक मानिन्छ ।
प्राचीन तथा मध्यकालमा नेपाली कला र संस्कृति निकै समृद्ध थियो । कला र संस्कृतिको दृष्टिकोणबाट मध्यकाललाई नेपालको स्वर्णयुग मानिन्छ । काठमाडौँ उपत्यकालगायत मुलुकका धेरै स्थानमा रहेका विभिन्न पुरातात्त्विक भवन, मठ, मन्दिर, गुम्बा, सत्तल, हिटी वा अन्य सम्पदा प्राचीन वा मध्यकालीन उपलब्धि मानिन्छन् । साथै अभौतिक संस्कृतिका रूपमा जीवन्त रहेका अनेकौँ जात्रा, परम्परा तथा रीतिरिवाजसमेत यसै अवधिका उपज मानिन्छन् । सबै मूर्त वा अमूर्त सांस्कृतिक निधि समग्र नेपालका सम्पदा हुन र विश्व सम्पदाका रूपमा यिनको संरक्षण, विकास र प्रचारप्रसारबाट नेपाली समाजको आर्थिक सामाजिक समुन्नतिमा योगदान पुग्न सक्छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा नेपालका विभिन्न ६० समुदायलाई आदिवासी जनजातिका रूपमा सूचीकृत गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम नेपालको कुल जनसङ्ख्याको करिब ३५ प्रतिशत जनसङ्ख्या आदिवासी जनजाति समुदायको रहेको देखिन्छ । विविधतायुक्त नेपाली कला र संस्कृतिको विकासमा जनजाति समुदायको महìवपूर्ण योगदान रहेको छ । राई, लिम्बु, मगर, तामाङ, गुरुङ, नेवार, शेर्पा, थारु, थकाली, भुजेल, दनुवार, भोटे, माझी, बोटे, राउटे, चेपाङ, राजवंशीलगायत अन्य धेरै जनजाति समुदायमा आआफ्ना विशिष्ट सांस्कृतिक परम्परा, जात्रा, पर्व र रीतिरिवाज प्रचलनमा छन् जसले नेपाली संस्कृतिको उद्विकासमा मुख्य भूमिका निर्वाह गरिरहेका छन् । जनजातिको अलावा ब्राह्मण क्षेत्री वा अन्य जातीय समुदायमा समेत विशिष्ट र मौलिक सांस्कृतिक प्रचलन जीवन्त रहेका छन् । विभिन्न समुदायले मनाउने दसैँ, तिहार, छठलगायतका पर्व र मानिसको जन्मदेखि मृत्युपर्यन्त अपनाइने विविध संस्कार तथा अन्य धेरै रीतिरिवाज वा प्रचलन अभौतिक संस्कृतिको उदाहरण हुन् । नेपालका सबै जातजातिले विकास र अवलम्बन गरेका सबै संस्कृति नेपालको सांस्कृतिक मौलिकताको संवाहक हुन् । यस्ता विशिष्ट संस्कृतिको प्रचारप्रसार र प्रवर्धन गरी राष्ट्रिय एकता र सांस्कृतिक गरीमा अभिवृद्धि गर्दै मुलुकको अर्थतन्त्र सुदृढ तुल्याउनेतर्फ सरोकारवालाको विशेष ध्यान पुग्नु पर्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१ तर्जुमा गरी नेपालका हरेक जातजाति, भाषाभाषी, संस्कृति एवं धर्मसँग सम्बन्धित विभिन्न अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणको प्रक्रियाअघि बढाएको छ । कार्यविधिले नेपालमा परम्परागत रूपमा बसोबास गर्दै आएका जातीय समुदायका एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै तथा अभ्यास भई आएका विभिन्न १० सांस्कृतिक विधाका अभौतिक सम्पदालाई स्थानीय तह, प्रदेशस्तरीय वा राष्ट्रिय गरी तीन स्तरमा सूचीकरण गर्न सकिने व्यवस्था गरेको छ । यस अनुरूप राष्ट्रको आन्तरिक सूचीकरणमा परेका सम्पदालाई आवश्यक प्रक्रिया पूरा गरी युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदा (इन्ट्यान्जिवल कल्चरल हेरिटेज) को रूपमा सूचीकृत गर्न सकिने अवस्था सिर्जना भएको छ । यसो भएमा कुनै एक समुदायमा सीमित कुनै सांस्कृतिक अभ्यासले विश्व सम्पदाको रूपमा पहिचान पाउनुको साथै मुलुकको सांस्कृतिक विकास र समुन्नतिमा त्यस्तो समुदायले विशेष भूमिका निर्वाह गर्ने अवसर समेत उपलब्ध हुन सक्छ । नेपालका अभौतिक सांस्कृतिक सम्पदालाई आन्तरिक सूचीकरण गरी संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को अभौतिक सम्पदा सूचीमा समेत सूचीकरण गराउने तर्फ सबै स्थानीय तह प्रदेश सरकार र सङ्घीय सरकारका अलावा सबै जातजातिभित्रका सांस्कृतिक समुदाय र यससँग सम्बन्धित सङ्घ संस्था तथा संस्कृतिविद् समेतको समन्वयात्मक प्रयास अघि बढ्नु पर्छ ।
नेपाल र चीनबिच हालै भएको समझदारीबाट दुई मुलुकका जातीय समुदायमा रहेका कला र संस्कृतिको विकासमा सहकार्य गर्ने उद्देश्य राखिएको छ । यस समझदारीले एक अर्को मुलुकमा सांस्कृतिक प्रदर्शनीको आयोजना र सांस्कृतिक ज्ञानको आदानप्रदान गरी पर्यटन प्रवर्धन गर्ने लक्ष्य लिएको छ । यसबाट नेपाली कला र संस्कृतिलाई विश्व बजारमा प्रवर्धन गर्ने अवसरको थप ढोका खुलेको मान्न सकिन्छ । नेपालका विभिन्न जातजातिमा रहेका अमूर्त सांस्कृतिक अभ्यासलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने दिशामा समेत यस समझदारीले थप बल प्रदान गर्ने छ ।
वर्तमान विश्व रङ्गमञ्च सांस्कृतिक पुनर्जागरणको दिशामा अघि बढिरहेको छ । बाह्य संस्कृतिको बढ्दो प्रभावले समाजको आन्तरिक पुनरुत्थान क्षमता र मौलिक पहिचान कमजोर हुँदै गएको तर्फ अधिकांश मुलुकमा चर्चा हुन थालेको छ । विकसित तथा शक्तिशाली मुलुकमा समेत राज्य सञ्चालनमा आफ्नो मौलिक पहिचान र रैथाने संस्कृतिलाई विशेष ख्याल गरिनुपर्ने आवाज उठ्न थालेका छन् । साना र कमजोर अर्थतन्त्र भएका मुलुकले सार्वभौमसत्ताको रक्षा र सुदृढीकरणको निमित्त स्वनिर्भर अर्थतन्त्रको विकास गर्न आफ्नो मौलिकता र परम्परागत ज्ञानको अधिकतम सदुपयोग गर्नु पर्छ ।
नेपाली संस्कृतिको क्षेत्र समृद्ध र व्यापक भए पनि यसबाट राज्यले आवश्यक लाभ लिन सकेको छैन । ज्ञानार्जन वा रोजगारीका लागि युवा जनशक्तिको ठुलो हिस्सा संसारभर छरिन पुगेको कारण नेपाली संस्कृति विस्तारित हुने तर्फ लम्किरहेको छ । विश्वव्यापीकरणको परिणामस्वरूप नेपाली कला र संस्कृतिमा बढ्दो बाह्य प्रभावले आफ्नो मौलिकतामा फिकापन बढ्दै गएको समेत महसुस गर्न सकिन्छ । यस अवस्थामा मौलिक नेपाली संस्कृतिको जगेर्ना र प्रवर्धन गर्दै अन्तर्राष्ट्रिय जगतमा फैलाउने तथा आफ्नो रैथाने ज्ञान र संस्कृतिलाई राष्ट्रिय अर्थतन्त्र सुदृढ तुल्याउने मुख्य कडीको रूपमा विकास गराउनेतर्फ सबैको ध्यान केन्द्रित हुनु पर्छ ।