• २५ फागुन २०८१, आइतबार

अस्तित्व सङ्कटमा बहिरा क्याम्पस

blog

काठमाडौँ, फागुन २५ गते । बहिरा (सुस्त श्रवण) विद्यार्थीलाई उच्च शिक्षाको अवसर दिइरहेको मुलुककै पहिलो र एक मात्र केन्द्रीय बहिरा क्याम्पस यतिबेला अस्तित्व रक्षाको सङ्कटबाट गुज्रिरहेको छ । 

क्याम्पस स्थापना भएको १२ वर्ष भइसकेको छ । त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा क्याम्पसले २०६९ सालदेखि स्नातक तहमा शिक्षाशास्त्र सङ्कायको पढाइ सञ्चालन गरिरहेको छ तर कतैबाट पनि पर्याप्त सहयोग नहुँदा क्याम्पसको अवस्था शैक्षिक, प्रशासनिक तथा भौतिक रूपमै दयनीय छ । 

बहिरा विद्यार्थीलाई विद्यालय तहको शिक्षा दिने विद्यालय अन्य ठाउँमा भए पनि उच्च शिक्षाको अवसर प्रदान गर्ने शैक्षिक संस्था यो एउटा मात्रै हो । यहाँ मुलुकभरका बहिरा विद्यार्थीले पढिरहेका छन् । क्याम्पसका अनुसार हाल क्याम्पसमा १६५ जना विद्यार्थी अध्ययनरत छन् । ७० जनाले क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरिसकेका छन् । 

स्नातक उत्तीर्णका लागि स्नातकोत्तर तहको व्यवस्था गर्न सकिएको छैन । हाल क्याम्पस नक्सालस्थित केन्द्रीय बहिरा विद्यालयले उपलब्ध गराएको एउटा भवनको चार वटा कोठामा सञ्चालित छ । बहिरा विद्यालय भने सरकारीमातहत भएकाले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको छ । 

विद्यालयले आफूलाई स्थान अपुग रहेको बतायो भने क्याम्पसले कुनै पनि बेला अन्यत्र सर्नुपर्ने बाध्यता छ । दिउँसो विद्यालय तहमा बहिरा विद्यार्थीको पढाइका लागि कक्षाकोठा चाहिने भएका कारण क्याम्पसको पढाइ अहिले पनि विद्यालय तहका विद्यार्थी पढेर घर गएपछि साँझमा मात्रै हुने गरेको छ । 

साँझमा पढाइ हुने भए पनि क्याम्पस सञ्चालन भएको स्थानमा पनि पर्याप्त बिजुली, पानी, शौचालयलगायत विद्यार्थीका लागि आवश्यक पर्ने न्यूनतम सुविधासमेत पर्याप्त छैन । क्याम्पसका लागि शिक्षक कर्मचारीका लागि छुट्टै कार्यालय सञ्चालन गर्ने ठाउँ छैन । राज्यबाट सहयोग नहुँदा शिक्षक, कर्मचारीलाई पर्याप्त सुविधा दिन सकिएको छैन भने तालिम प्राप्त शिक्षक नहुँदा पठनपाठनलाई प्रभावकारी बनाउन पनि सकिएको छैन । 

अहिले दिउँसो बहिरा विद्यालयमा पढाउने शिक्षक र बाहिरका केही शिक्षकको भरमा क्याम्पस सञ्चालन भइरहेको छ । कतिसम्म भने विद्यार्थीका लागि शिक्षाशास्त्र सङ्कायमा मात्रै पढ्नुपर्ने बाध्यता छ । बहिरा विद्यार्थीले कक्षा १२ मा जुन विषय पढे पनि स्नातक तहमा शिक्षाशास्त्र सङ्काय मात्रै पढ्नुपर्ने बाध्यता छ । त्यति मात्रै होइन, विद्यार्थीले शिक्षाशास्त्रमा पनि जनसङ्ख्या र नेपाली विषय मात्रै ऐच्छिक रूपमा रोज्नुपर्ने बाध्यता छ । 

“मेरो छोरा कान मात्रै सुन्दैन । अन्य सबै हिसाबले ‘स्मार्ट’ छ । उसलाई शिक्षाबाहेक अन्य सङ्कायमा पढ्ने इच्छा थियो तर विकल्प नहुँदा मन नलागे पनि यही विषय पढिरहेको छ,” सोही क्याम्पसमै छोरा पढाइरहेका अभिभावक दिवाकर चापागाईंले भन्नुभयो, “राज्यले बहिरा विद्यार्थीको उच्च शिक्षालाई पटक्कै प्राथमिकता दिएको छैन । त्रिविले पनि सम्बन्धन दिएपछि क्याम्पसको हितका लागि केही पनि सोचेको छैन जुन दुःखद हो ।” 

यहाँ अनिवार्य विषय भने अन्य सङ्कायका विद्यार्थी सरह पढाइ हुन्छ । सङ्केतबाट पढाउनुपर्ने विद्यार्थीका लागि कुनै पनि सुविधा नरहेको क्याम्पस सञ्चालक समितिका सदस्यसमेत रहनुभएका चापागाईंले गुनासो गर्नुभयो । 

क्याम्पस सञ्चालक समितिका सदस्यसमेत रहनुभएका अर्का अभिभावक टेक बमले पनि बहिरा विद्यार्थीले कान सुन्न नसके पनि अन्य हिसाबले सक्षम रहेको बताउनुभयो तर विद्यार्थीलाई शिक्षाशास्त्र सङ्कायभन्दा बाहेकमा पढ्ने अवसर प्रदान गर्न नसकिएको उहाँले बताउनुभयो । 

राज्यले पर्याप्त आर्थिक सहयोग गरेर बहिरा विद्यार्थीको पढाइमा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बमले बताउनुभयो । थुप्रै बहिरा विद्यार्थीले समाजका विभिन्न क्षेत्रमा लागेर आफूलाई सपाङ्ग विद्यार्थीभन्दा अब्बल स्थापित गरेको बताउँदै बमले भन्नुभयो, “त्रिविले बहिरा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउनु पर्छ । राज्यले प्रशस्त आर्थिक सहयोग दिएर आफ्नै भवनमा पठनपाठनको व्यवस्था  मिलाउने तथा शिक्षक कर्मचारीको पूर्ण आर्थिक दायित्व लिनु पर्छ ।”

क्याम्पस सञ्चालक समितिका अर्का सदस्य फडिन्द्र निरौलाले पनि क्याम्पसलाई त्रिविको आङ्गिक क्याम्पस बनाउन पहल भइरहेको तर सार्थकता भने नपाएको बताउनुभयो । अहिले उक्त क्याम्पसलाई सरकारले विश्वविद्यालय अनुदान आयोगमार्फत बर्सेनि आर्थिक सहायता प्रदान गर्दै आएको छ । 

क्याम्पसमा हाल शिक्षक कर्मचारीसमेत गरेर नौ जना कार्यरत छन् । अपाङ्गता भएका विद्यार्थीलाई कुनै पनि शीर्षकमा शुल्क लिन नपाइने कानुनी व्यवस्था छ । सर्वोच्च अदालतले केही समयअघि यस्तो फैसला गरेपछि बहिरासहित अपाङ्गता भएका कुनै पनि विद्यार्थीलाई भर्ना, पढाइ, दर्ता, परीक्षा शुल्कसहित प्रमाणपत्र वितरण गर्दासमेत शुल्क लिन पाइँदैन । 

क्याम्पस प्रमुख ऋषि देवकोटाले सीमित स्रोत र साधनका बाबजुद पनि शिक्षण सिकाइ क्रियाकलापलाई भने निरन्तरता दिइरहेको बताउनुभयो । पर्याप्त स्रोत नहुँदा विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई समेत न्यूनतम सुविधा पनि दिन नसकिएको देवकोटाले गुनासो गर्नुभयो । उहाँका अनुसार क्याम्पसको पछिल्लो वर्षको उत्तीर्ण दर ६१.७६ रहेको छ ।   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।