• २५ फागुन २०८१, आइतबार

कांग्रेसले गुण र दोषका आधारमा सरकारलको समर्थन र खबरदारी गर्छ : कोइराला

blog

कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालगायत

लीलाराज खड्का 

विर्तामोड, फागुन २४ गते। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले वर्तमान सरकारलाई गुण र दोषका आधारमा समर्थन र खबरदारी गर्ने बताउनुभएको छ। कांग्रेसले सरकारलाई समर्थन मात्रै गरेको भन्दै उहाँले गुण र दोषका आधारमा सरकारको समर्थन र खबरदारी  गर्ने बताउनुभएको हो । 

नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय विभाग केन्द्रीय समितिको आयोजना र शनिबार कोशी प्रदेश समितिको संयोजनमा विर्तामोडमा आयोजित ‘स्वदेशदेखि विदेशसम्म’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै  नेता कोइरालाले यस्तो धारणा राख्नुभएको हो।

‘नेपाली कांग्रेसका लागि भोलिको मुख्य प्रतिस्पर्धी शक्ति एमाले हो’, नेता कोइरालाले भन्नुभयो, ‘कांग्रेस सरकारको सहयोगी मात्रै हो। कांग्रेस सत्तामा छ, सरकारमा छैन। सत्ता बाहिर रहनेले गुण र दोषका आधारमा खबरदारी र समर्थन गर्नुपर्छ।’ 

नेपालमा विकास र समृद्धिका सम्भावना रहेको चर्चा गर्दै नेता कोइरालाले हाइड्रोपावर, कृषि उत्पादन, जडिबुटी, पर्यटन प्रबद्र्धन, होटल तथा व्यवसाय लगायतका क्षेत्रमा लगानी गर्न सके आयस्तर बढाउन सकिने बताउनुभयो। यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा  कांग्रेस नेता कोइरालाको जोड थियो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर के.सीले चर्का कुरा गरेर काम नगर्ने प्रवृत्ति नेतामा देखिएको बताउँदै काम गरेर देखाउन आग्रह गर्नुभयो। कार्यक्रममा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले विश्व बजारलाई हेर्दा अर्थतन्त्रको मोडल फेरिएको बताउँदै उत्पादन गर्नेले भन्दा डिजाइन र बजारीकरण गर्नेले बढी मुनाफा आर्जन गर्ने गरेको उदाहरण प्रस्तुत गर्नुभयो।


कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाई, राजीव कोइराला, सुशीला ढकाल आचार्य, डा. गोविन्द पोखरेल, गोमा भट्टराई, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, पूर्व केन्द्रीय सदस्य गुरु घिमिरे, कोशी प्रदेश महासचिव उमेश थापा, झापा सभापति देउकुमार थेवे लगायतले मन्तव्य राख्नुभएको थियो।